६ महिनाभित्र नेपालको टिपिएस स्टाटस सकिँदै, १३ हजार प्रभावित हुनसक्ने

६ महिनाभित्र नेपालको टिपिएस स्टाटस सकिँदै, १३ हजार प्रभावित हुनसक्ने

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन डिसी, २४ कात्तिक ।

अमेरिकी सरकारले पछिल्ला दिनहरूमा एकपछि अर्को गर्दै विभिन्न देशहरुको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) खारेज गरिरहँदा नेपालीले पाएको टिपिएसबारे पनि अन्यौल सिर्जना भएको छ । अमेरिकाले विभिन्न देशहरुको टिपिएसको अवधि नथपिरहेको वर्तमान अवस्थामा नेपालबारे पनि अन्यौल सिर्जना भएको हो ।

नेपालको टिपिएसको अवधि आगामी जुन २४ मा समाप्त हुँदैछ । तसर्थ, अमेरिकी सरकारले नेपालबारे अप्रिल २४ भित्र निर्णय गर्ने भएको समाचारमा उल्लेख छ । झण्डै १३ हजार नेपालीहरु अमेरिकामा टिपिएसबाट संरक्षित छन् ।

स्मरणीय छ, अमेरिकी सरकारले अमेरिकामा रहेका निकागारागुवाका नागरिकहरुलाई प्रदान गरेको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) को अवधि भर्खरै मात्र समाप्त गरेको छ । सोमबार मध्यरात अगाडिको डेडलाइन सकिनु अगाडि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटरी एलेन ड्युकले निकारागुवाका नागरिकलाई दिइएको टिपिएस समाप्त भएको घोषणा गरेकी हुन् ।

उनीहरुलाई १४ महिनाभित्र अमेरिका छाड्ने अल्टिमेटम दिइएको छ ।

निकारागुवाका झण्डै २५ सय नागरिकहरुले झण्डै सन् १९९९ देखि अमेरिकामा टिपिएस प्राप्त गरेका थिए । अब उनीहरूको टिपिएसको अवधि नथपिएपछि उनीहरुले सन् २०१९ को जनवरी ५ भित्र अमेरिका छाड्नुपर्ने भएको छ ।

त्यस्तै होण्डुरसका नागरिकहरुको टिपिएसको अवधि पनि आगामी जनवरी ५ मा सकिने सन्दर्भमा अमेरिकी सरकारलाई त्यसबारे निर्णय गर्ने डेडलाइन सोमबारसम्मको थियो । तर होण्डुरसबारे भने अमेरिकी सरकारले निर्णय गरेको छैन । होण्डुरसको अवस्थाबारे मूल्यांकन गर्न थप आवश्यक भएको भन्दै अमेरिकी सरकारले सोमबार निर्णय नगरेपछि होण्डुरसको टिपिएस अवधि सन् २०१८ को जुलाई ५ सम्म अर्थात् ६ महिनाका लागि स्वतः थपिएको छ । अब अमेरिकी सरकारले सन् २०१८ को मे ५ सम्म त्यसबारे निर्णय गर्नेछ । होण्डुरसका ५७ हजार नागरिक अमेरिकामा टिपिएसबाट संरक्षित छन् ।

होण्डुरसको बारेमा निर्णय गर्नका लागि अमेरिकी सरकारसँग मे ५ सम्मको म्याद छ ।

मध्य अमेरिकन र हैटियनहरुको टिपिएसको अवधि थप्न आवश्यक नभएको भन्दै अमेरिकी विदेश मन्त्रालयले होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुलाई पत्र लेखेपछि अरु देशको टिपिएस थपिनेमा आशंका बढेको हो ।

गत मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी कार्यकारी सेक्रेटरी एलेन ड्युकलाई पत्र लेख्दै मध्य अमेरिका र हैटीका नागरिकलाई टिपिएसको अवधि थप्न आवश्यक नभएको बताएका थिए । त्यसपछि ड्युकले निकारागुवाको टिपिएसको अवधि समाप्त गरेकी छिन् भने होण्डुरसबारे मूल्यांकनका लागि समय थपेकी छिन् ।

एल साल्भाडोरका झण्डै २ लाख टिपिएसप्राप्तहरुका बारेमा निर्णय लिने समय भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग अझै झण्डै २ महिना बाँकी छ । हैटीका टिपिएसप्राप्त झण्डै ५० हजारको बारेमा भने अमेरिकी सरकारले नोभेम्बरको अन्तिम सातासम्म निर्णय लिने अपेक्षा गरिएको छ ।

अमेरिकी सरकारले टिपिएसको अवधि नथपेको खण्डमा पनि उनीहरुलाई अमेरिका छाड्न वा स्टाटस एड्जस्ट गर्नका लागि ६ महिनाको सहुलियत अवधि दिनसक्ने जनाइएको छ ।

कुन देशको टिपिएस कहिले सकिँदैछ ?

एल साल्भाडोरको टिपिएस अवधि २०१८ को मार्च ९ मा सकिँदैछ । सकिनुभन्दा ६० दिन अगाडि अमेरिकी सरकारले निर्णय लिनसक्ने भएकाले यसबारे जनवरीको पहिलो सातातिर निर्णय आउनसक्ने अनुमान छ । गायना, लाइबेरिया र सियरालिओनको टिपिएस अवधि गत मे २१ मा समाप्त भइसकेकाले उनीहरु देशनिकालाका लागि योग्य छन् । हैटीको टिपिएस अवधि आगामी जनबरी २२ मा सकिने भएकाले आगामी थ्यांक्स गिभिंग ड (नोभेम्बर अन्तिम साता)सम्म उनीहरुबारे निर्णय हुनसक्ने जनाइएको छ ।

होण्डुरसको टिपिएस अवधि जुलाई ५ सम्म कायम भएको छ भने निकारागुवाको समाप्त भएको छ । अबको १४ महिनाभित्र उनीहरुले अमेरिका छाड्नुपर्नेछ । नेपालको टिपिएस अवधि आगामी जुन २४ सम्म रहेकाले अमेरिकाले नेपालबारे पनि अप्रिलको अन्तिम सातासम्म निर्णय गर्नेछ । नेपालबारे निर्णय लिनका लागि अब ६ महिना पनि बाँकी छैन ।

Logo