काभ्रेको बनेपाका प्राध्यापक नकर्मीले अमेरिकामा पाए १ लाख ५९ हजार डलरको पुरस्कार

काभ्रेको बनेपाका प्राध्यापक नकर्मीले अमेरिकामा पाए १ लाख ५९ हजार डलरको पुरस्कार


अमेरिकामा भौतिक शास्त्रका एकजना प्राध्यापकले १ लाख ५९ हजार डलर राशीको पुरस्कार पाएका छन्।

काभ्रेको बनेपा घर भएका न्युयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा. डा. मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेशनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपैयाँ) राशीको पुरस्कार पाएका हुन्।

एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो। वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ र यो पाउन निकै प्रतिस्पर्धा हुने गर्छ। उनले पाएको पुरस्कार सेप्टेम्बर २०२१ देखि दुई वर्षको लागि हो।

उक्त पुरस्कार पाएपछि आफू निकै उत्साहित भएको नकर्मीले बताए। नकर्मीका अनुसार यो पुरस्कार आफ्नो प्रयोगशालामा भएको एक यन्त्र फोटोलुमिनेसिन स्पेकट्रोस्कोपीमा लाइफ टाइम (जीवनकाल) नाप्न सक्ने बनाउन एक उपकरण स्त्रीक क्यामेरा (वर्ण रेखाङ्किय चित्रक) को लागि प्रदान गरेको हो। लेजरको पल्सले सेमी कन्डक्टर (अर्ध ताप अथवा विद्युत चालक) पदार्थमा हानेपछि निस्कने प्रकाशबाट उक्त पदार्थको गुण अध्ययन गर्न सकिन्छ।

उक्त उपकरण जडान गरेपछि सेमी कन्डक्टरबाट निस्कने प्रकाश कति छिटो अथवा कति ढिलो हुन्छ भनेर नाप्न सकिन्छ। उक्त स्त्रीक क्यामेराले पिको सेकेन्ड सम्मको आजीवन भएको लाइट नाप्न सकिन्छ। उक्त उपकरण जडान गरेपछि सेमी कन्डक्टरको प्रकाश निस्कने गुणबारे अनुसन्धान गर्न सहयोग हुनेछ। नकर्मी बिगत २० वर्षदेखि वाइड ब्याण्ड ग्याप सेमी कन्डक्टरसम्बन्धी अनुसन्धान गरिरहेका छन्।

यस्तो सेमी कन्डक्टर पदार्थको विकासबाट पराबैजनी किरण (अल्ट्रा भ्वालेट लाइट) भन्दा पनि परको प्रकाश निस्कने एलइडि बनाउन सकिन्छ। जसलाई धेरै कम बिजुली खपत हुने बत्तीको साथै किटाणु मार्नेको लागि पनि प्रयोग गर्न सकिन्छ।

नकर्मीले अमेरिकाको क्यान्सस स्टेट युनिभर्सिटीबाट भौतिक शास्त्रमा विद्यावारिधि गरेका छन् भने ब्रुकलिन महावद्यिालयमा सन् २००७ देखि प्राध्यापन र अनुसन्धान गरिरहेका छन्। नकर्मीले अमेरिका आउनु अघि करिब ६ वर्ष काठमाडौं विश्व विद्यालयमा प्राध्यापन गरेका थिए।न्युज कारखानाबाट

Logo