११ असोज २०७८ सोमबार

मलेसिया गएका युवक १६ वर्षदेखि बेपत्ता

रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवक १६ वर्षदेखि वेपत्ता छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।  विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेको छ । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पीरमा परेको उनले बताइन् । उनले भनिन्, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौँ ।”

विष्णुमायाले भक्कानिँदै भनिन् । मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरहने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ थियो । अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत्विपत् परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताए ।

काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए । चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ । सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द छ ।

हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उहाँनले बताउनुभयो । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् । 

प्रकाशित: २८ भदौ २०७८ ०७:५१ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी