‘एक एनआरएन एक रोजगार अभियान’ प्रतिवद्धतासहित एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

‘एक एनआरएन एक रोजगार अभियान’ प्रतिवद्धतासहित एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी


गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आज एक कार्यक्रमको आयोजना गरि एनआरएनएका सल्लाहकारसमेत रहेका आचार्यले औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ।

एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको आचार्यले बताए।

उनले भने, ‘संस्थाका संस्थापक र अग्रजहरुको साथ विश्वभर रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु । र मैले संकल्प गरेको छु कि तपाईं हामी सबैको गैरआवासीय नेपालीहरुको पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने छु ।’

आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता गरे।

उनले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गर्ने आश्वासनसमेत दिए।

Logo