आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर बन्छ : उर्जामन्त्री भुसाल

आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर बन्छ : उर्जामन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्र रूपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने यस्तो बताएकी हुन् । उनले चालु आर्थिक वर्षमा नेपालमा विद्युत् आयात भन्दा विद्युत् निर्यात बढी भई नेपाल खुद विद्युत् निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गरिन् । 

मन्त्री भुसालले नेपालले भारतको इनर्जि एक्सचेन्ज बजारमार्फत ३६४ मेगावाटसम्मको विद्युत् खरिद बिक्री गर्ने गरेको बताइन् । उनले विद्युत् प्राधिकरणले भारतमा निर्यात हुने विद्युत् भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको जानकारी दिइन् । मन्त्री भुसालले विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको भन्दै चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको बताइन् ।

उनले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८४ करोड विद्युत् निर्यात गरेको बताइन् । मन्त्री भुसालले विद्युत् निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने बताइन् । मन्त्री भुसालले नेपालले वार्षिक रूपमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्ष मात्रै बाँकी रहेको दाबी गरिन् । उनले अहिलेसम्म विद्युत् खरिद बिक्री सम्झौता र विद्युत् उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको बताइन् । उनले मुलुकमा विद्युत् जडित क्षमता २ हजार २ सय मेगावाट पुगेको उल्लेख गरिन् । 

मन्त्री भुसालले गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको भन्दै चालु आर्थिक वर्षमा करिब ८ सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताइन् । उनले जलाशययुक्त जलविद्युतको आयोजनामा निजी क्षेत्रको आकर्षण नदेखिएको बताइन् । मन्त्री भुसालले जलविद्युत उत्पादनलाई तीव्रता नदिने हो भने जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने भनाई राखिन् । 

Logo