राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न हुँदैनः जुत्ता उत्पादक संघ

राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न हुँदैनः जुत्ता उत्पादक संघ

केन्द्रबिन्दु
0
Shares

फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन् । 

बिहीवार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले राज्यले भएका साना तथा घरेलु उद्योगहरुलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न राम्रो नभएको बताएका हुन् । उनले सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ताचप्पल उद्योगहरु बन्द गरेर बस्नुपर्ने बताए । 

घिमिरेले सरकारले भएका उद्योगलाई नीतिगत रुपमा संरक्षण गर्ने भएकाले कुनैपनि देशमा सरकार आफैँले उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको बताए । उनले वर्तमान अवस्थामा निजी नेपाली जुत्ता चप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताए । उनले सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशत भन्दा बढी सञ्चालन हुन नसकेको बताए । 

उनले भएका उद्योग पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा राज्य आफैँले नयाँ उद्योग खोल्नु निजी उद्योगीहरुको लागि राम्रो नहुने बताए । सरकार भएका उद्योगहरुको संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ उद्योग व्यवसायमा लागे जुत्ता उत्पादक संघ नेपालले बिरोध गर्ने उनको भनाई थियो । 

पत्रकार सम्मेलनमा संघले नेपाली जुत्ता उद्योग देशको मागलाई धान्नसक्ने उत्पादन क्षमताको विकास भएको बताएको छ । संघले नेपालको दक्षिण सीमानाबाट हुने चोरी,पैठारी र कम मूल्यका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीहरुलाई मार परेको जानकारी दिएको छ । खुला सीमानामा हुने जुत्ताचप्पल चोरी,पैठारी नियन्त्रणमा सरकार सशक्त रुपमा लाग्न माग गरेको छ । चोरीपैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन संघले सरकारसँग माग गरेको छ । 

Logo