के हो म्युचुअल फण्ड, यसमा लगानी गर्नु कति उचित ?

के हो म्युचुअल फण्ड, यसमा लगानी गर्नु कति उचित ?

केन्द्रबिन्दु
0
Shares

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोष । यस अन्तर्गत सञ्चालित योजनाहरू एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । म्युचुअल फण्ड दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले यसको संख्या नेपालमा मात्र नभएर देशभरी नै बढ्दो छ । 

सामान्य भाषामा म्युचुअल फण्ड भनेको समान वित्तीय उद्देश्य भएका ससाना लगानीकर्ताहरूबाट लगानीयोग्य रकम संकलन गरी ठूलो कोषको रूपमा उक्त रकमलाई दक्ष तथा अनुभवी व्यवस्थापकको प्रत्यक्ष निगरानीमा विभिन्न वित्तीय उपकरणहरूमा लगानी गरी लगानीकर्ताहरूलाई जोखिम न्यूनीकरण गर्दै राम्रो प्रतिफल दिन सक्ने एक वित्तीय औजार/सामाग्री हो ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) नियमावली २०६७ को प्रावधानमा रहेअनुसार संगठित संस्थाले सर्वप्रथम सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि म्युचुअल फण्ड दर्ता गर्न सकिन्छ र यसअन्तर्गत विभिन्न म्युचुअल फण्ड योजनाहरू सञ्चालनको स्वीकृति लिई सञ्चालन गर्न सकिन्छ । म्युचुअल फण्ड योजनाहरुलाई २ प्रकारले व्याख्या गर्न सकिन्छ । एउटा बन्दमुखी र अर्को खुलामुखी योजना ।

बन्दमुखी योजना के हो ?
बन्दमुखी योजनामा योजनाको आकार सुरुमा नै तय गरेर प्राथमिक बजारमा निष्कासन गरिएको हुन्छ । जस्तैः ७ वर्ष, १० वर्ष वा योजनाले निर्धारण गरे बमोजिमका लागि र सो अवधि नसकिएसम्म फण्डको आकार परिवर्तन हुँदैन । तर, इकाईधनीहरु भने परिवर्तन भैरहन्छन् ।

खुलामुखी योजना भनेको के हो ? 
विभिन्न प्रकारका म्युचुअल फण्ड योजनाहरूमध्ये खुलामुखी योजना पनि एक हो । यस्ता प्रकारका योजनाहरू स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन् र यसका इकाईहरू दैनिक रूपमा निर्धारण हुने प्रति इकाई खुद सम्पत्ति मूल्यमा लगानीकर्ताहरूले आफूले चाहेको समयमा योजना व्यवस्थापक वा तोकिएको वितरकहरूमार्फत सजिलै रूपमा खरिदरबिक्री गर्न सक्ने व्यवस्था रहेको हुन्छ जसले गर्दा खरिदकर्ता र बिक्रीकर्ता खोजिरहनुपर्ने झण्झटबाट लगानीकर्ता मुक्त हुन्छन् । 

यस्ता योजनाहरूको आकारसमेत थपघट भइरहने हुन्छ, जस्तो लगानीकर्ताहरूले इकाईहरू खरिद गरेमा योजनाको आकार बढेर ठूलो हुँदै जान्छ भने बिक्री गरेमा योजनाको आकार घटेर सानो हुँदै जान्छ । यसका साथै निश्चित समयमा परिपक्क नभई निरन्तर सञ्चालनमा भैरहन्छ । यस योजनामा एकपटक प्राथमिक बजारमा निष्कासन गरिसकेपछि इकाईहरूको खरिद तथा बिक्रीको अनुपातमा योजनाको आकार पनि परिवर्तन हुने हुन्छ ।

के छ म्युचुअल फण्डमा लगानी गर्दाको फाइदा ?
म्युचुअल फण्डमा लगानी गर्न धेरै ज्ञानको आवश्यकता पर्दैन । सेयरमा लगानी गर्नुपर्यो भने कम्पनीको बारेमा सम्पूर्ण जानकारी हुनुहुपर्छ । कम्पनीका वित्तीय अवस्थादेखि हालसालको बजारमा समेत ज्ञानकार हुनुपर्छ । तर म्युचुअल फण्डमा लगानी गर्दा  सेयरमा जस्तो धेरै कुराहरुमा जानकार हुनुपर्दैन । विज्ञहरुले आफ्नो विज्ञताको भरपुर उपयोग गर्दै ‘पोर्टफोलियो’ लगानी गर्ने हुँदा लगानीकर्ताको थोरै रकम पनि धेरै कम्पनीमा लगानी व्यवस्थित हुन्छ । यिनै कारणले पछिल्लो समय म्युचुअल फण्डमा लगानी आकर्षित हुँदै गएको छ ।

थोरै रकम हुँदा सीमित सस्तो कम्पनीको सेयरमा मात्रै लगानी गर्न सकिन्छ । तर म्युचुअल फण्डमा लगानी गर्दा एकीकृत रुपमा ठूलो पुँजी जुट्छ र धेरै कम्पनीमा लगानी हुन्छ ।

बन्दमुखी र खुल्लामुखी योजनाको बजार मूल्यको अवस्था कस्तो छ ? 
बन्दमुखी योजना स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने हुँदा यसको बजारमूल्य बजारमा रहने माग र आपूर्तिको आधारमा हुन्छ भने खुलामुखी योजनाको हकमा भने योजना व्यवस्थापकले दैनिक रूपमा गरिएको खुद मूल्यको गणनाको आधारमा कारोबार मूल्य निर्धारण हुन्छ ।

खुलामुखी योजनाको परिपक्व हुने निश्चित समय बन्दमुखी योजना जस्तो निर्धारण गरिएको हुँदैन । बन्दमुखी योजना भने केही निर्धारित समयपश्चात स्वतः खारेज भएर जान्छ भने खुलामुखी योजना निरन्तर सञ्चालनमा रहने गर्छ । बन्दमुखी योजना स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने हुँदा इकाईहरूका खरिदकर्ता वा बिक्रीकर्ता दोस्रो बजारमा नै निर्धारण हुने हुन्छ । तर यसको ठीक विपरीत खुलामुखी योजनामा भने योजना आफैँले खरिदकर्ता वा बिक्रीकर्ताको भूमिका निर्वाह गर्ने गर्छ जसले गर्दा इकाई धनीहरू खरिदकर्ता वा बिक्रीकर्ता खोजिरहनुपर्ने बाध्यताबाट यस्तो प्रकारको योजनामा मुक्त हुन खोजिरहन्छन् । 

Logo