कैलालीमा सरकारी कोटाको धान खरिद सुरु, पहिलो दिन एक हजार क्विन्टल धान खरिद

कैलालीमा सरकारी कोटाको धान खरिद सुरु, पहिलो दिन एक हजार क्विन्टल धान खरिद


खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले निर्धारण गरेको कोटाअनुसार मंगलबारदेखि धान खरिद गर्न थालेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रदेश कार्यालय प्रमुख इन्जिला बस्नेतका अनुसार मंगलबारदेखि कैलालीको मोहनपुर, टीकापुर र शत्तिmबाट धान खरिद सुरु गरिएको हो । पहिलो दिन तीनवटै केन्द्रबाट एक हजार क्विन्टल धान खरिद भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १६ कात्तिकको मोटा धानको न्यूनतम मूल्य दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ कायम गरेको थियो । कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन । 

कैलालीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी शक्रबार तीन स्थानबाट धान खरिद गर्ने निर्णय गरिएको थियो । कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति आएको प्रदेश कार्यालय प्रमुख बस्नेतले बताइन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७७ मा धानको समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल दुई हजार सात सय ३५ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ८५ तोकेको थियो । सो वर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो । 

गत वर्ष मोटोधानको मूल्य दुई हजार सात सय ५० र मसिनो धानको मूल्य दुई हजार आठ सय निर्धारण गरिएकामा कात्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनीले धान खरिद नै गरेन । २०७७ मा कैलालीका चार स्थान (धनगढी, टीकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो ।
 

Logo