नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन् ।
बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बजारमा अहिले तरलतामा केही सहज भइरहेपनि पुस महिनामा भने तरलतामा चुनौती आउने बताए ।
गभर्नर अधिकारीले तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको बताए । गत आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब बजरमा पठाएको उनले बताए । तरलताको अभावलाई अझ सहज बनाउन बजारमा मनी रिसाइक्लिङको आवश्यक्ता हुने उनको भनाई छ ।
‘बजारमा तरलतामा केही सहजता भइरहेको छ । सधैँ सहजता रहँदैन । पुस हामीलाई चुनौति रहन्छ । यो साल पुसमा केही ट्याक्स सरकारको कोषमा पैसा आउँछ । क्यालेण्डर अनुसार पुस महिनामा ३० अर्बको इस्यु छ । यसको असर पुसमा पर्छ तर हामी कसरी तरलताको असरलाई सहज गर्छौं भन्नेकुरामा लागि परेका छौँ । राष्ट्र बैंकले तरलता सहजताको लागि गरेको प्रयास यहाँहरुले गहिरिएर हेर्नुभयो भने थाहा हुन्छ । गत वर्ष ९७ खर्ब एक वर्षमा मार्केटलाई राष्ट्र बैंकले दिएको छ ।’ उनले भने, ‘हामीले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम गरिरहेका छौँ । तैपनि बजारमा त्यो खालको सहजता भइरहेको छैन । कारण भनेको बिओपी हो । पछिल्ला दिनमा राम्रो खालको रेमिट्यान्स इन्फ्लो पाइरहेका छौँ । जसको असर स्वरुप हामीलाई तरलतामा सहजता भएको छ । यसलाई अझै सहज बनाउन एक खालको रिसाइक्लिङ बजारमा हुन जरुरी छ । लगेको ऋण केही न केही कोषमा तिरिनुपर्छ तबमात्र तरलता सहज हुन्छ । बजारलाई हामी सहज बनाउँछौँ नै । तर बजारमा भएको अनुशासनहीन, फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरुलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्यौँ भने कहिल्यै सुधार हुँदैन । झन गाह्रो पर्छ । त्यसकारण त्यस्ता विकृतिहरु समयमा नै चिर्नुपर्छ ।’
गभर्नर अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताए । अहिले आयात खुला गरिएको र अर्थतन्त्रलाई सन्तुलन गर्न विभिन्न नीति ल्याइएको पनि उनले बताए ।





























प्रतिक्रिया