जोर विजोर प्रणाली लागू भएपछि उपत्यकामा सवारीको चाप घट्यो

जोर विजोर प्रणाली लागू भएपछि उपत्यकामा सवारीको चाप घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर विजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ ।

जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो । पछिल्लो केही दिन यता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर विजोर प्रणाली सुरु गरेको थियो । शुक्रबार मात्रै उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नविकरण, संस्था दर्ता नविकरण, नीजि सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण लगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् । प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ । शुक्रबार नै उपत्यकामा अहिलेसम्मकै बढी १२४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । असार २६ गतेबाट उपत्यका लगायत देशभरी जिल्ला भित्र मात्रै सवारी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।

सरकारले आवश्यक मापदण्ड पूरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिएपछि अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको छ । मास्क प्रयोग गरेको भए पनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको छ । शुक्रबार मात्रै उपत्यकामा १ सय २४ जना कोरोना भाइरसका संक्रमित देखिएका थिए । शनिबार अरु दिनको तुलनामा उपत्यकाका सडकहरुमा न्यून मात्रामा सवारी चलेका छन् ।

Logo