नाडाका पदाधिकारीले भेटे भन्सार विभागका महानिर्देशकलाई, भन्सार जाँचपासबारे छलफल

नाडाका पदाधिकारीले भेटे भन्सार विभागका महानिर्देशकलाई, भन्सार जाँचपासबारे छलफल

केन्द्रबिन्दु
0
Shares

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रवहादुर बुढासंग भेटवार्ता गरेको छ । भेटमा नेपालको भन्सार नाकाहरुमा जम्मा भएका सवारी साधनहरुको भन्सार जाँच पासका सम्बन्धमा विस्तृत छलफल भएको छ ।  

सो क्रममा राजनबाबु श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नितिहरुको कारण अटोमोवाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताउँदै बैंक लगायतका वित्तिय निकायहरुले लगाएको उच्च व्याज दर, अटो लोन हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पु-याइएको, बैंकहरुबाट नीजि सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पु-याइएको आदि विभिन्न कारणले बजारमा सवारी साधनहरु विक्री हुन नसकेकोले सवारी साधन पैठारीकर्ताहरुले भन्सारमा आईपुगेका सवारी साधनहरुको भन्सार जाँच पास गर्न नसकेको बताए । 

सो छलफलमा श्रेष्ठले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री समेत दुई तिहाईले घटेको जानकारी दिए । 

सो छलफलका क्रममा नाडाका पुर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँच पासका लागि विभागले तोकेको सवै कागजातहरु पेश गर्दा पनि भन्सार जाँच पासमा कठीनाई उत्पन्न भईरहेको गुनासो गरे । सोही क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले कोभिडको समयमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढ्न थालेकोले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर विलिङ्गलाई अनिवार्य गर्नुपर्ने धारणा राखे । 

यसै, क्रममा ट ह्वीलर समितिका सभापति अभिक ज्योतिले सोही उच्च व्याज दरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमी आएको जानकारी दिए । 

राजश्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लाण्ट खोल्न फीजिविलिटी नभएका सवारी साधन पैठारीकर्ताहरुले सवारी साधनको एसेम्बल प्लाण्ट खोल्न फीजिविलिटी भएका कम्पनीहरुसंग मिलेर आफनो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गरे । 

सो क्रममा महानिर्देशक बुढाले सरकारलाई राजश्व संकलनको दवाव परिरहेको बताउँदै विभागले व्यवसायीहरुको मागलाई यथासंम्भव सम्बोधन गर्ने उल्लेख गरे । उनले नेपालका भन्सार नाकाहरुमा आईसकेका सवारी साधनहरुको यथासंम्भव भन्सार जाँच पासका लागि आग्रह गर्दे नेपालका भन्सार नाकाहरुमा कुन कुन ब्राण्डका के कति सवारी साधनहरु छन् त्यसको तथ्याङ्क उपलब्ध गराई दिन समेत अनुरोध गरे । 

उक्त छलफलमा भन्सार विभागका उपमहानिर्देशकद्धय डिलाराम पन्थी, यज्ञराज कोइराला, सुचना अधिकारी पुण्य विक्रम खड्का, निर्देशकद्धय रामप्रसाद रेग्मी, रामप्रसाद मैनाली र कृष्ण बस्नेत समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य बरदान बस्नेतसमेतको उपस्थिति रहेको थियो । 

Logo