राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषियोग्य जग्गाको खण्डिकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीवार नेपाल कृषि सहकारी केन्दीय संघको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय कृषि योग्य जमिनमा पल्टिङ गरी बस्ति बसाउने क्रम बढेको भन्दै सरकारले कृषि उत्पादन बढाउनको लागि जग्गाको खण्डिकरण गरी कृषियोग्य जमिनमा बस्ति बसाउन नियन्त्रण गर्न आवश्यक रहेको बताएका हुन् । उनले सरकारको पहिलो काम नै कृषि योग्य जमिनको खण्डिकरण नियन्त्रण गर्ने हुनुपर्ने बताए । कृषियोग्य जमिनमा बस्ति बसाउनेले नेपालको कृषि क्षेत्रको विकास हुन नसकेको उनले दाबी गरे ।
अध्यक्ष तिमिल्सिनाले सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरुलाई जग्गाको वर्गिकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिएपनि दबाबको कारण काम गर्न नसकेको देखिएको बताए । उनले सरकारले कृषियोग्य जमिनलाई खण्डिकरण गर्ने नभएर बचाउनु पर्ने बताए । नेपाल कृषिप्रधान देश भनिएपनि कृषि क्षेत्रमा धेरै पछाडि रहेको उल्लेख उनले गरे ।
नेपाल कृषिप्रधान देश मात्रै नभएर कृषिमा आत्मनिर्भर भएर कृषि निर्यात मुलक देश बनाउनुपर्ने आवश्यकता रहेको अध्यक्ष तिमिल्सिनाले बताए । उनले देशमा ठूला उद्योगधन्दाहरु स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरुसँग प्रतिष्पर्धा गर्न समस्या रहेको भन्दै देशभित्र कृषि उत्पादनमा वृद्धि गरी विदेश निर्यात गरेर देशको वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए ।
उनले कृषि क्षेत्रमा सहकारीमार्फत उत्पादन,बजार व्यवस्थापन र ढुवानी समेत गरेर सहुलियत मूल्यमा उपभोक्ताले पाउने तथा रोजागारी समेत सिर्जना हुने बताए ।
अध्यक्ष तिमिल्सिनाले कृषि क्षेत्रमा रहेका कानूनहरु कृषि उत्पादनमा बाधक भए कानून संशोधन गरेर किसानमुखी कानून बनाउनुपर्ने बताए । उनले किसानमुखी कानून भए मात्रै किसानहरुको हीत हुने दाबी गरे । उनले नेपाली माटोमा उत्पादन भएका अग्र्यानिक वस्तु प्रशोधन गरेर बेच्नसके दुनियाका जुनसुकै देशले किन्नसक्ने बताए ।
उनले नेपाली कृषि उत्पादनलाई अब अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्नसक्ने गरी उत्पादनमा वृद्धि गर्न आवश्यक रहेको बताए । नेपाली उत्पादनहरुलाई अन्य देशले आफ्नो देशमा उत्पादन भएको भनेर कपि राइट गरेको हुनसक्ने भन्दै उनले अब नेपाली उत्पादनलाई नेपालमा नै उत्पादन भएको भनेर दर्ता गर्न आवश्यक रहेको बताए ।































प्रतिक्रिया