कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

केन्द्रबिन्दु
0
Shares

जुम्लाहुँदै सुर्खेत जाने कर्णाली राजमार्ग गत असोजमा आएको बाढीपहिरोले क्षतविक्षत बनेपछि ०६३ सालकै स्वरुपमा फर्किएको छ ।

०६३ सालमा राजमार्गको ट्रयाक खुल्दा जस्तो थियो अहिले त्यही स्वरुपमा पुगेको छ ।सुर्खेतदेखि जुम्लासम्मको २३५ किलोमिटरको राजमार्ग यसपटकको बाढी पहिरोले तत्काल सञ्चालन हुन नसक्ने अवस्थामा छ । कर्णालीवासीको जीवनरेखाको रुपमा रहेको कर्णाली राजमार्ग विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी हुँदै मुगुसम्म यातायात सञ्चालन हुँदा स्थानीय उत्पादन र वस्तु विनियमयमा निकै सहज भएको थियो । तर चार महिनादेखि राजमार्ग सञ्चालनमा समस्या भएपछि यात्रुहरूले पीडादायी यात्रा गरिरहेका छन् ।

विपदबाट राजमार्गका दर्जनौँ स्थान क्षतबिच्छेद भएको छ भने भत्किदा सडक बनाउँदा र पहिरो पन्छयाउन लाखौँ खर्च भइरहेको छ । अहिले राजमार्ग कामचलाउ हिसाबले सञ्चालन भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ । कालोपत्रे भएका सडक समेत अहिले कच्ची सडकमा परिणत भएका छन् । राजमार्ग ०६३ को कच्ची बाटोमा परिणत भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए । उनले भने, ‘राजमार्गमा विशेष प्याकेजको आयोजना र बजेट आवश्यक छ ।यसमा सरकार र कर्णालीका जनप्रतिनिधिले जोड दिनुपर्छ ।’

सडक डिभिजन कार्यालय जुम्ला निरन्तर मर्मत सम्भारमा खटिए पनि धेरै क्षेत्रमा बाढीपहिरोले भत्काएपछि थेग्न नसकिने भएको छ । सबैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यसपछि दैलेख खण्डका भत्किएको छ । कर्णाली राजमार्गबाट यात्रा गर्दा यात्रुका फरक फरक पीडा छन् । जुम्लाका मनऋषि धिताल भन्छन्, ‘कर्णाली र नाग्म गमगढी राजमार्गमा बाढीपहिरोले माथिबाट पहिरो आउनलाई ठिक्क तयारी भए जस्तो धेरै स्थानमा  छन् । यसपटक पहिरोले धुँलो अत्याधिक बढेको छ । यो क्षेत्रमा बर्खामा हिलो झन बढ्ने देखिन्छ ।’

पहिलेको अवस्थामा ल्याउन दुई अर्ब बजेट माग

राजमार्गमा काम गर्ने इन्जिनियरदेखि अन्य कर्मचारी रजमार्ग पहिलाको अवस्थामा फर्काउन कठिन रहेको बताउँछन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार राजमार्ग विपद् क्षेतबिच्छेद बनाएपछि नियमित बजेट प्रयोग गरेर काम त भइरहेको छ । यसका साथै पूर्ववतअवस्थामा ल्याउन दुई अर्बको बजेट चाहिन्छ । उनका अनुसार सो बजेटको माग अहिले अर्थ मन्त्रालयमा पुगेको छ । केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पञ्छाउन यो बजेट स्वीकृत भएमा सहयोग पुग्नेछ ।

जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस आवश्यक रहेका बताए । मुगुले निर्णय पठाइसकेको छ भने जुम्ला र कालिकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले बताएको छ । डिभिजन सड्क कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर चित्र चौलागाईका अनुसार राजमार्गको लामो भागमा पहिरो पञ्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडा–राजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा छ ।

यसका साथै दही खोलादेखि जुम्लामा मात्रै एक सय स्थानमा पहिरो गएको बताए ।  सेरिगाडमा एक साताअघि ठूलो सुख्खा पहिरो आएपछि जाली तथा ग्याविन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । यस बर्ष समयमै बजेट प्राप्त भएन भने जतिबेला पनि पहिरो आउने र दुर्घटना हुने डर छ । १९ असोजमा गएको बाढीपहिरोले कर्णाली राजमार्गअन्तर्गत राँचुलीमा मलामी गएका १३ जनाको मृत्यु भएको थियो । 

Logo