साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यकः अध्यक्ष गोल्छा

साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यकः अध्यक्ष गोल्छा

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । 

सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच बिस्तार गरी तिनै तहका उद्योगहरुले लघु,साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताए । 

उनले गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने विश्वास व्यक्त गरे । साना, ठूला सबै उद्योगको क्षमता अहिले करिव ६० प्रतिशतले घटेको बताए । उनले बैंकहरुको महंगो ब्याजले लगानी बिस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको बताए । 

अध्यक्ष गोल्छाले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने बताए । उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरे । करिव ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग उनले आग्रह गरे । 

उनले कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको बताए । 

अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नती गर्ने सम्भावना प्रशस्त रहेको पनि बताए । उनले एसएमइ क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनैतिक र नीतिगत प्रतिवद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको बताए । 

Skip This
Skip This
Logo