९० प्रतिशत जनसङ्ख्यामा पुग्यो विद्युत् पहुँच

९० प्रतिशत जनसङ्ख्यामा पुग्यो विद्युत् पहुँच

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आर्थिक वर्ष ०७६/७७ मा देशभरका कूल ९० प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण ग्रामीण क्षेत्रमा समेत विद्युत् पुगेको हो ।

सो आवमा कूल १४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । योसँगै नेपालको कूल जलविद्युत् जडित क्षमता एक हजार ३९९ मेगावाट पुगेको छ । सरकारले कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीसहित केही ठूला आयोजनाको निर्माण गत आवमै सक्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन ।

गत आवमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २६० किलोवाट घण्टा पुगेको छ । यस्तै सो वर्ष थप तीन लाख ३४ हजार घरधुरीमा विद्युत् पहुँच विस्तार भएको छ । योसँगै नेपालमा विद्युत् पहुँच प्राप्त घरधुरी सङ्ख्या ५० लाख १० हजार पुगेको छ । मन्त्रालयले थप २८५ सर्किट किलोमिटर नयाँ प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ ।

थपिएको सहित प्रसारण लाइनको लम्बाइ देशभर कूल चार हजार २५१ सर्किट किलोमिटर पुगेको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य तथा वायु ऊर्जा थप भई कूल ८६६ किलोवाट पुगेको छ । यस्तै वर्षभरिमा थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायोग्यासको सङ्ख्या ४१९ पुगेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पहुँच प्राप्त जनसङ्ख्यामा तीन प्रतिशतको वृद्धि भई ९० प्रतिशत पुगेको छ । यस्तै, विद्युत् वितरणका लागि २९० वटा नयाँ सब–स्टेसन निर्माण भएका छन् । विद्युत् चुहावटमा पनि उल्लेख्य प्रगति भएको छ । गत आवमा विद्युत् चुहावट १५.२७ प्रतिशतमा सीमित भएको छ । देशभरका १६ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ ।

Logo