उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन् ।
नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन् । उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए ।
उनले लामो समय देखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एशोसिएशनले गर्दै आएको मागमा सरकार गम्भिर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै जाने बताए । उनले अटोमोबाइल्समा विलासिताका सवारी साधन भएपनि अटोमोबाइल्स विलासिताको वस्तुको रुपमा परिभाषा गर्नु हुँदैन भन्ने विषयमा कुनै दुविधा हुन नसक्ने बताए ।
अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भएपनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे । उनले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताए ।
उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालमा विद्युतीय थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको उल्लेख गरे । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।
अर्थमन्त्री पौडेलले नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला रहेको उल्लेख गरे । उनले अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यत्मक अवस्थाबारे निजी क्षेत्रले बुझ्न आवश्यक रहेको बताए ।































प्रतिक्रिया