अर्थमन्त्रीलाई पूर्वएमाले सांसदहरुको प्रश्न, कसले-के भने ?

अर्थमन्त्रीलाई पूर्वएमाले सांसदहरुको प्रश्न, कसले-के भने ?

केन्द्रबिन्दु
0
Shares

पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले एमाले सांसद एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थतन्त्रको सुधार र न्युनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका छन् । 

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले सभासमक्ष पेस गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षामा प्रश्न गर्दै अर्थतन्त्रको सुधार र न्युनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका हुन् । 

बैठमा पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले अहिलेको अर्थतन्त्रको सुधार ल्याउने कुरा र नयाँ कार्यक्रमलाई पूरा गर्नेकुरा कसरी तादात्म्यता हुनसक्ला ? भनेर नेकपा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री बनेका पौडेललाई प्रश्न गरे । उनले स्वदेशी मालले बजार नपाउने र ओपन बोर्डरबाट भन्सार नतिरि चोरी गरेर ल्याइएका सामानले ठाउँ लिने हो ? भन्दै प्रश्न गरे । 

सांसद पाण्डेले अर्थमन्त्रीले प्रस्तुत गरेकाे अर्थतन्त्र सुधारको योजनामा आफूलाई कुनै योजना नलागेको बताए । 

त्यस्तै पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले गौरवका आयोजनाहरु अलपत्र रहेको बताए । ति आयोजनामा बजेट सुनिश्चित गर्ने, टेण्डर गर्ने, तर त्यसको कार्यान्वयन नगर्ने, बजेट नपठाउने खालको बेथिति रहेको भन्दै त्यसलाई कसरी अन्त्य गर्नुहुन्छ भन्दै प्रश्न गरे । उनले बैंकिङ तरलता अभाव समाधानको के उपाय छ ? पुराना नोट खिचेर हुन्छ की ? अन्य केही विकल्पहरु छन् की त्यसतर्फ सरकारले ध्यान दिएको छ की छैन ? भन्ने प्रश्न उनको थियो । 

वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुको ब्याजदर घटाउने बारेमा, ब्याजदर नघटाएसम्म तरलता अभाव समाधान गर्न नसकिनेतर्फ ध्यानाकर्षण गराउँदै त्यसतर्फ सरकारको के कार्यक्रम छ भन्दै प्रश्न गरे । पुँजीगत खर्च बढाउने, साधारण खर्च घटाउने, प्रशासन खर्च कटाउने र फजुल खर्च अन्त्य गर्न के कार्यक्रम छ ? भन्ने उनको प्रश्न थियो । 
 
त्यस्तै  पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको कमर्सियल बैंकले ४७ खर्ब, १७ अर्ब ऋण प्रवाह गरेको, यसमध्ये २८ खर्ब १७ अर्ब उच्च घरानिया भनिने १ सय परिवारले उपयोग गरिरहेको र १८ खर्ब ८८ अर्ब १६ लाख परिवारमा वितरण भएको उजागर गर्दै नेपाली अर्थतन्त्र उच्च घरानियाहरुको नियन्त्रणमा फसेको बताए । 

समाजवादउन्मुख अर्थतन्त्रमा विश्वास राख्ने अर्थमन्त्री भन्दै उनले यही तरिकाले समाजवादउन्मुख अर्थतन्त्र कायम रहन सक्छ ? भन्ने प्रश्न गरे । समाजवादउन्मुख अर्थतन्त्रका लागि मन्त्रालय र नेपाल राष्ट्र बैंकले के सोच बनाएको भन्ने प्रश्न गरे । 

सांसदहरुको प्रश्नमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गरिरहेको बताएका थिए । 

Logo