स्वतन्त्र उर्जा उत्पादक संस्था नेपालद्वारा जलविद्युत आयोजना निर्माण सुरक्षाको माग

स्वतन्त्र उर्जा उत्पादक संस्था नेपालद्वारा जलविद्युत आयोजना निर्माण सुरक्षाको माग


स्वतन्त्र उर्जा उत्पादक संस्था नेपालले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । 

उत्पादक संस्थाले फागुन १५ गते सिन्धुपाल्चोक जिल्लाको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानिय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांधातिक आक्रमणको भत्र्सना गरेको छ । इप्पानले जलविद्युत आयोजनामा स्थानीयको समूहले नै उश्रृंखल, अराजक तथा अपराधिक घटना भएको बताएको छ । 

पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षती भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र घाइते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरेका छन् । उनले पछिल्लो समय जलविद्युत आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि बताए । 

उनले जलविद्युत जस्ता आयोजनामा स्थानीय वडाअध्यक्ष सहितको संग्लनतामा यस्ता अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उर्जा क्षेत्रमा नकारात्मक सन्देश जाने बताए । उनले यस्ता घटनाले सिन्धुपाल्चोक लगायत जलविद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भिर रुपमा ध्यान जान आवश्यक रहेको पनि बताए । 

उनले सरकारले परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभुति गराउन सीता जलविद्युत आयोजनामा भएको घटनाको छानबिन गरी दोषी उपर कानून अनुसार कारबाही गर्न माग गरे । 
 
त्यस्तै, सीता जलविद्युत आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गरे । उनले फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानी एक बालिकाको निधन भए पश्चात ६० जनाको एक समूहले योजनावद्ध रुपमा आयोजना स्थलमा तोडफोड, आगजनी र कर्मचारीमाथि आक्रमण गरेको बताए । 

उनले विद्युत प्राधिकरणको लाइनसँग आयोजनाको कुनै सम्बन्ध नभएको पनि बताए । उनले एक समूहको आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत गृह, सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति र ७ जना इन्जिनियरहरु घाइते भएको पनि बताए । आयोजनामा भएको आक्रमणबाट करिव १२ करोड बराबरको क्षती भएको उनले बताए ।  

अध्यक्ष तिमल्सिनाले जलविद्युत निमार्ण कार्य शुरुवातगर्दादेखि विभिन्न आक्रमणहरु भइरहेको पनि बताए । उनले नेकपा एमालेका कार्यकर्ताहरुले केही समयअघि काम दिन माग गर्दै पत्र पठाएको बताए । अब राज्यले सुरक्षा दिन नसक्ने भए निजी क्षेत्रले कुनै पनि क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएको उनले जिकिर गरे  ।

Logo