सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन, एकैपटक ६ वटा गाडी चार्ज गर्न मिल्ने

सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन, एकैपटक ६ वटा गाडी चार्ज गर्न मिल्ने

केन्द्रबिन्दु
0
Shares

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।

ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । 

दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक छ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए । 

उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरु गर्ने उनको भनाइ छ । समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधैँ प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले जानकारी दिए ।

“साँझ ५ देखि ११ बजेसम्मको पिकआवरमा प्रतियुनिट रू १० दशमलव ५० र राति ११ बजेदेखि बिहान ५ बजेसम्म रू छ दशमलव ६० महसुल निर्धारण गरेको छ”, विद्युत् प्राधिकरण लालबन्दीका सूचना अधिकारी विशाल श्रेष्ठले भने, “बिहान ५ देखि बेलुकी ५ बजेसम्मको समयमा सवारीसाधन चार्ज गर्दा प्रतियुनिट रू आठ दशमलव ५० विद्युत् महसुल निर्धारण गरिएको छ ।”

“चार्जिङ स्टेशन स्थापनापछि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सजिलो र सस्तो भएको छ”, चालक मोहन थापाले भने, “डिजेल गाडीमा सर्लाहीबाट काठमाडाैँ पुगेर आउँदा कम्तीमा रू १० हजारको तेल मात्रै खर्च हुन्थ्यो” । 

उनले थपे, “विद्युतीय सवारीले त्यति नै दूरी एक हजार खर्च गरे पुग्छ ।”

Skip This
Skip This
Logo