व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक -मुख्यमन्त्री जम्कट्टेल

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक -मुख्यमन्त्री जम्कट्टेल


बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । 

आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने, “समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक छ ।” 

उनले अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको भन्दै सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्ने बताए । यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागेको उनको भनाइ छ । 

ब्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिकरूपमा सुधार हुँदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे  । “बैंकको ब्याज एकल अङ्कभन्दा माथि जाँदैन । भन्सारका समस्या पनि छिट्टै समाधान हुन्छ । व्यवसाय चलेन भने सरकार चल्दैन । व्यवसायीहरू अहिले समस्यामा छन्”, उनले भने, “सरकार व्यवसायीको समस्या समाधान गर्ने उपाय खोजिरहेको छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्याङ्क निकालेर राज्यको आयस्रोत बढाउन नयाँ खाका बनाएर सरकार अघि बढ्नुपर्नेमा जोड दिए । 

Logo