काठमाडौं ।
आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेका मध्ये जम्मा ७६ प्रतिशतले मात्र तेस्रो किस्ता बुझिसकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्क अनुसार जम्मा लाभग्राहीमध्ये ९९ प्रतिशतले पहिलो किस्ता बुझेका छन् ।
त्यसैगरी विद्यालयको पुनःनिर्माणतर्फ ७४ प्रतिशत प्रगति छ । देशका अति प्रभावित १४ जिल्लाका कूल सात लाख २८ हजार २४३ लाभग्राहीमध्ये एक लाख १८ हजार ३२९ को घर निर्माण सम्पन्न भइसकेको छ । सिन्धुपाल्चोक, रसुवा, दोलखा र नुवाकोटमा सबैभन्दा बढी पुनःनिर्माणको काम पूरा भएको प्राधिकरणले जनाएको छ ।
कोभिड–१९ पछिको बन्दाबन्दी लगायत अन्य विविध कारणले गर्दा सोचे बमोजिम तोकिएको समयमा काम पूरा नहुने प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताए । “प्राधिकरणको विनियममा काम पूरा नभएको अवस्थामा थप एक वर्ष थप्ने भन्ने प्रावधान छ, सो बमोजिम समयावधि थपिन पनि सक्छ”, उनले भने। वि.सं. ०७२ को भूकम्पपछि त्यही वर्ष पुस १० गते प्राधिकरणको गठन भई लाभग्राहीको तथ्याङ्क सङ्कलन गरी रकम वितरणको काम शुरु भएको थियो ।रासस





























प्रतिक्रिया