काठमाडौं ।
कोरोना भाइरसको प्रभावले शिथिल बनेको अर्थतन्त्र पछिल्लो समय चलायमान हुन थालेको छ । कोरोना कहरकै बीच पनि पछिल्लो ६ महिनामा बैंकहरुले व्यवसाय विस्तारमा लगानी गरेर राम्रै प्रगति गरेका छन् ।
गत आर्थिक वर्ष ०७७ असार मसान्तको तुलनामा ०७७ पुस मसान्तमा अधिकांश वाणिज्य बैंकहरुले कर्जां लगानीमा उल्लेखनिय प्रगति गरेका छन् । तर २ वटा बैंकको कर्जा र ३ वटा बैंको निक्षेप घटेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी ३२ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ । पछिल्लो एक महिनामै बैंकहरुको कर्जा लगानी १ खर्ब १३ अर्ब रुपैयाँले वृद्धि भएको बैंकर्स संघका कार्यकारी निर्देशक तथा प्रवक्ता अनिल शर्माले बताए । कोरोना महामारीका कारण कर्जा लगानी हुन नसकेकाले बैंकमा तरलता थुप्रिएको थियो । तर पछिल्लो ६ महिनादेखि विस्तारै कर्जामा लगानी बढ्दै गएको थियो । पुस महिना लागेसँगै कर्जामा लगानी आक्रामक रुपमा बढेको तर निक्षेपमा भने खासै वृद्धि हुन नसकेको शर्माको भनाइ छ ।
संघका कार्यकारी निर्देशक शर्माका अनुसार गत असारको तुलनामा २४ वटा वाणिज्य बैंकले निक्षेप संकलन बढाएका छन् भने २५ वटाले कर्जा प्रवाह बढाएका हुन् । पछिल्लो एक महिनामा कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैँयाँले बढ्दा निक्षेप भने ६२ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ ।
निक्षेप र कर्जा बढाउनेको सूचीमा अग्रस्थानमा एनआइसी एशिया बैंक रहेको छ भने यो एनआइसी एशियासँगै सिभिल बैंकले पनि उल्लेख्य मात्रामा व्यवसाय विस्तारमा लगानी गरेको छ । एनसीसी र प्रभु बैंक निक्षेप र कर्जा दुवै बढाउने बैंकहरुको सूचिको अग्रस्थानमा रहेका छन् ।
पछिल्लो ६ महिनाको अवधिमा निक्षेप संकलन १० वटा बैंकले १० प्रतिशतदेखि ३२ प्रतिशत, १२ वटा बैंकले १ प्रतिशतदेखि १० प्रतिशतसम्म र ३ वटा बैंकले ०.३१ प्रतिशतदेखि १.५४ प्रतिशतसम्म वृद्धि गरेका छन् । त्यस्तै, गत असार मसान्तको तुलनामा १७ वटा बैंकले १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म, ९ वटा बैंकले १ प्रतिशतदेखि १० प्रतिशतसम्म कर्जा प्रवाह बढाएका छन् ।
बैंकहरुले पछिल्लो ६ महिनामा गरेको व्यापारमध्ये पुस महिनामा मात्रै ३७ प्रतिशत ऋण बिस्तार गरेका छन् । पछिल्लो ६ महिनामा बैंकहरुले ३ खर्ब ३८ अर्ब २५ करोड ऋण लगानी गरेका छन् । त्यसमध्ये पुसमा मात्र एक खर्ब २७ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका हुन् ।
कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण करिव ५ महिनासम्म कर्जा विस्तार हुन सकेको थिएन । तर दशैं लागे पश्चात सुस्तरुपमा कर्जा लगानी सुरु भएको थियो । तर, यसबेलामा निक्षेपमा भने वृद्धि उच्च रहेको थियो । बैंकर्स संघको तथ्यांक अनुसार पछिल्लो समय निक्षेपलाई ऋण विस्तारले पछाडि पारेको देखिन्छ ।
असार मसान्तदेखि पुस मसान्तसम्म आइपुग्दा निक्षेप विस्तार २ खर्ब ९१ अर्ब ६९ करोड रुपैयाँ मात्र छ । ७४ अर्ब ८१ करोड निक्षेप संकलन गरेका छन् । आर्थिक वर्षको पहिलो ६ महिनामा जति संकलन भयो पुसमा मात्र त्यसको २५.६४ प्रतिशत निक्षेप संकलन भएको छ । बैंकहरुले पुस मसान्तसम्म ३२ खर्ब ४३ अर्ब ५६ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गर्ने लक्ष्य राखेको छ । तर लक्ष्य अनुसार आर्थिक वृद्धिदर बढाउनका लागि नतिजा दिने क्षेत्रमा लगानी भने भएको छैन । यता, आर्थिक वृद्धि प्रक्षेपण गर्ने विदेशी निकायहरुले नेपालको चालु आर्थिक वर्षमा एक प्रतिशतभन्दा कम मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।































प्रतिक्रिया