लघुवित्त पीडितहरुले रुँदै भने- प्रचण्ड सरकार कि मुक्ति देऊ, कि मारिदेऊ

लघुवित्त पीडितहरुले रुँदै भने- प्रचण्ड सरकार कि मुक्ति देऊ, कि मारिदेऊ

केन्द्रबिन्दु
0
Shares

डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको माग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् ।

राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले “सरकार कि हामीहरुलाई मुक्ति देउ कि गोली हानिदेउ” भन्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

कार्यक्रममा लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा बैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ । त्यस्तै, देशब्यापीरुपमा संघर्षलाई थप आक्रामक गर्ने उद्घोष गरेका छन् ।

चैत २१ देखि माइतिघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पु-याएको बताए । उनीहरुले आफूहरु घरमा बस्ने नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

समितिका अध्यक्ष ज्ञावालीले पीडितहरुको जीवन मर्नु न बाँच्नुको अवस्थामा पु-याउने लघुवित्तले कयौंको ज्यान लिइसकेको र सयौंलाई विस्थापित गरिसकेको जानकारी दिए । उनले न्यायको निम्ति आफूहरुले निष्कर्षसहित अन्तिम लडाइँको लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए ।

राष्ट्रिय किसान संघ सञ्जाल नेता अगस्त अधिकारीले लघुवित्तिय संस्थाहरुले राष्ट्र बैंकको निर्देशिका र प्रचलित ऐन कानुन मिचेर आमजनतालाई गर्दै आएको ज्यानमारा ज्यादतिबाट न्याय पाउन आफ्नो किसान संगठनले सम्पूर्ण सयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरु लघुवित्तहरुको ऋणी भएको र अधिकाशंलाई ब्याजको स्याज लगाएर गैरकानुनी तरिकाले यातना दिएको आरोप लगाए । उनले अहिले गरिब दुःखीको पार्टी माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार मुख दर्शक भएर बस्नु गलत भएको बताउँदै भने, “प्रचण्डज्यू तपाईं साँच्चिकै गरिब जनताको नेता हो भने अब यहि हो मौका ऋण मिनाहा गरेर न्याय दिनुस् ।”

त्यसैगरी समितिकी केन्द्रीय कोषाध्यक्ष शिखा रेस्मीले आफूहरुको आन्दोलनलाई साथ दिनुको सट्टा पीडितहरु पीडामा घ्यू थप्ने कार्य गरेको र त्यस्तो नगर्न चेतावनी दिइन् । साथै अभियन्ता दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाविरुद्धको नाममा पीडितकै विरुद्ध लागेको बताए । उनले दुर्गा प्रसाईले वास्तविक पीडितलाई न्याय दिन नसक्ने बताउँदै आफ्नो लागि नबोल्नसमेत सुझाव दिइन् ।

दाङकी पार्वती भूषाल, बर्दियाकी सविता बिक, चितवनकी माया महत, नवलपरासीकी मायादेवी थारुलगायतले लघुवित्तहरुको ज्यादतीविरुद्ध आत्मदाहसम्म गर्न तयार भएको बताए ।

यस्ता छन् थप संघर्षका कार्यक्रमः
१. चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म वडा र स्थानीय तहहरुमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीका विरुद्ध प्रतिरोध गर्ने ।
२. २०८० साल बैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरुमा सडक विस्तारमा सुत्ने ।
३. बैशाख ५ गते अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा आमरण अनसन बस्ने ।
४. पीडितलाई स्वतरुफूर्त रुपमा आमरण अनसन बस्ने लागि आह्वान गर्ने ।
५. माग पूरा नभए वडा, स्थानीय तह हुँदै केन्द्रसम्म आन्दोलन शसक्त बनाउने ।  

Skip This
Skip This
Logo