२०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा केही सकारात्मक काम भएसँगै केही कामले निराशा पनि छायो । केही कामहरु उपलब्धिजनक नै भएका थिए । जस्तै, नेपालका कम्पनीहरूले भारतमा सिमेन्ट निर्यात शुरू हुनु भनेको गत वर्षको एक प्रगति नै हो । तर अटोमोबाइल क्षेत्र सुस्तायो, यो भनेको उद्योग संकट निम्तिनु हो ।
२०७९ सालमा भएका औद्योगिक घटनाक्रमहरु के–के हुन् ?
भारतमा सिमेन्ट निर्यात शुरू
नेपालका कम्पनीहरूले उत्पादन गरेको सिमेन्ट भारतमा निर्यात शुरू भयो । सरकारले निर्यातमा अनुदान दिने घोषणा गरेपछि व्यवसायीले भारतमा सिमेन्ट निर्यात थालेका हुन् । पाल्पा र अर्घाखाँची सिमेन्टले असोजदेखि भारतमा निर्यात सुरु गरेका हुन् ।
अटोमोबाइल क्षेत्रमा सुस्ती
वर्षको शुरुआतदेखि नै अटोमोबाइल क्षेत्रमा सुस्ती देखियो । गत वैशाखमा नेपाल राष्ट्र बैंकले अटो कर्जा जोखिम भार ७५ बाट बढाएर १५० प्रतिशत पु-याउने र कर्जा सीमा ५० प्रतिशत तोक्ने कदम चालेपछि यो क्षेत्र प्रभावित भयो । बजेटमार्फत विलासिताका वस्तुमा प्रतिबन्ध लागेपछि अटोमोबाइल्स क्षेत्र धराशयी बन्न पुग्यो ।
स्टार्टअप कर्जा दिने निर्णय
सरकारले स्टार्टअप व्यवसायलाई विनाधितो कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्टअप कर्जा कार्यविधिअनुसार १४ प्रकारका उद्यमलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने निर्णय गरिएको हो । एक स्टार्टअप उद्यमीले बढीमा २५ लाखसम्म कर्जा पाउनेछन् ।
निर्माण उद्योगमाथि संकट
निर्माण उद्योग संकटको अवस्थामा रहे । सरकारी एवं निजी निर्माणका कार्य अति सुस्त बन्दा स्टील तथा सिमेन्ट उद्योगको अवस्था जटिल बन्यो ।
एकै वर्ष तीन वाणिज्यमन्त्री
अस्थिर सरकारको क्रम जारी रहँदा एकै वर्ष तीनजना उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने । पटक पटक मन्त्री परिवर्तन हुँदा उद्योग वाणिज्य क्षेत्रका समस्या समाधानमा हुन सकेन ।
संसद् भवन अगाडि आत्मदाह
आर्थिक संकटले गर्दा इलामका एक व्यवसायी प्रेम आचार्यले मुलुकको संघीय संसद् भवन अगाडि नै आत्मदाह गरे । आत्मदाह गर्नुअघि लेखेको सुसाइड नोटमा देशमा व्यावसायिक वातावरण नभएको, सरकार युवाप्रति अनुदार बनेको भन्ने जस्ता कुराहरु उल्लेख गरेका थिए ।
महासंघमा नयाँ नेतृत्व
मुलुकका उद्योगी व्यवसायीको ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको छ । निवर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल सकिएपछि चन्द्र ढकालले नेतृत्व सम्हालेका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।































प्रतिक्रिया