घट्यो बैंकहरूको नाफा, कसले कति कमाए? (सूचीसहित)

घट्यो बैंकहरूको नाफा, कसले कति कमाए? (सूचीसहित)


संचालनमा रहेका वाणिज्य बैंकहरुले साढे ४८ अर्ब माथि नाफा कमाएका छन् । आज बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा २१ वटा वाणिज्य बैंकहरुले कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा नबिलले सर्वाधिक नाफा कमाएकाे छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ५ अर्ब ९ करोड ११ लाख रुपैयाँले बढी हो ।

सो अवधिमा बैंकहरुले नाफा ११.६७ प्रतिशतले वृद्धि गरेका हुन् । गत आवको समिक्षा अवधिमा भने बैंकहरुको नाफा ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

नबिलले कमायो सर्वाधिक नाफा

नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । चालु आवको ९ महिनामा बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने ५२.६३ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो ।

एभरेष्ट बैंकेले बढायो सबैभन्दा धेरै नाफा

बैंकहरुको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा बढाउनेमा एभरेष्ट बैंक अगाडि देखिएको छ । सो अवधिमा बैंकको नाफा ६२.६३ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आवको समिक्षा अवधिमा भने बैंकले १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, धेरै नाफा वृद्धि गर्नेको दोस्रो स्थानमा स्टाण्डर्ड चार्टर्ड बैंक छ । बैंकले ६०.२५ प्रतिशतले नाफा वृद्धि गरि २ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

आधा दर्जन बैंकको नाफा घट्यो, कृषि विकास र सिद्धार्थ बैंकको धेरै

चालु आवको तेस्रो त्रैमासमा आधा दर्जन बैंकहरुको नाफमा गिरावट आएको छ । सो अवधिमा ७ वटा बैंकहरुको नाफा घटेको हो ।

विवरण अनुसार सबैभन्दा धेरै नाफा कृषि विकास बैंकको घटेको छ। बैंकको नाफा ४५.३६ प्रतिशतले घटेर १ अर्ब ४ करोड १० लख ३७ हजार रुपैयाँ कायम भएको छ ।

नाफा घट्नेको दोस्रो स्थानमा रहेको सिद्धार्थ बैंकको खुद नाफामा २८.६५ प्रतिशतको गिरावट आएको छ । चालु आवको ९ महिनामा बैंकले १ अर्ब ४९ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, सिटिजन बैंकको नाफा २२.२४ प्रतिशत, नेपाल बैंकको १८.७२ प्रतिशत, माछापुच्छ्रे १२.८८, प्राइम बैंकको ९.३५ र सनराइज बैंकको ८.३३ प्रतिशतले घटेको छ ।

एनएमबि र कुमारी बैंकको नाफामा देखिएन चमक

चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एनएमबि बैैंक र कुमारी बैंकको खुद नाफामा सामान्य झिनो सुधार देखिएको छ ।

समिक्षा अवधिमा एनएमबि बैंकको नाफा ०.६५ प्रतिशतले मात्रै बढेको छ । चालु आवको तेस्रो त्रैमासमा बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा पनि २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो ।

यता, एनसीसी बैंकसँग मर्ज भएको कुमारी बैंकको नाफा पनि चमक देखिएको छैन । सो अवधिमा बैंकको नाफा ०.९७ प्रतिशतले मात्रै वृद्धि भई १ अर्ब ८२ लाख ९५ हजार रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा पनि बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ग्लोबल र एनआईसी एशियाबीच प्रतिस्पर्धा

विवरणअनुसार ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकबीच नाफा प्रतिस्पर्धा देखिएको छ ।

ग्लोबल आइएमई बैंकले नौ महिनामा ४ अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने १६.९६ प्रतिशतले बढी हो । यता, एनआईसी एशिया बैंकले भने ९ महिनामा ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमामएको छ । बैंकको यो नाफा गत आवको समिक्षा अवधिको तुलनामा भने ११.३८ प्रतिशतले मात्रै बढी हो ।

यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले भने ३६.६९ प्रतिशतले नाफा बढाएको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ५७ करोड ६७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफाका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राष्ट्रिय वाणिज्यलाई पच्छ्याएको छ । सो अवधिमा नेपाल इन्भेष्टमेन्टले ३ अर्ब ४ करोड ६१ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा २२.९६ प्रतिशतले बढी हो ।

 

Logo