बिक्री भएन दाङमा उत्पादित मह

बिक्री भएन दाङमा उत्पादित मह

केन्द्रबिन्दु
0
Shares

दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गरेको २ टन मह बिक्री भएको छैन। उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् ।

तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गरेको ६ टन महमध्ये साढे २ टन मात्रै बिक्री गरेका छन् । उनले भने, ‘साढे ३ टन मह थन्क्याएर राखेको छु।’ उनीहरू त उदाहरण मात्रै हुन्। विगत २ वर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन।

भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ । ‘विना भन्सार भारतबाट मह आउँछ,’ किसान शर्माले भने, ‘भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन ।’  

विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । कच्चा पदार्थ १ वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेशामा आकर्षित थिए तर उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ । ‘यो पेशाप्रति किसान आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो,’ उनले भने, ‘तर अहिले मह बिक्री नभएपछि पलायन हुने अवस्था छ ।’

बिक्री नभए पनि १ वर्षसम्म राख्न सकिन्छ तर त्योभन्दा बढी समय भएमा मह बिग्रिने समस्या हुन्छ । भारतबाट ल्याइएको मह पातलो हुने भएकाले उपभोक्ताले पनि त्यही मह नै मन पराउँछन् तर गुणस्तर मह जम्छ भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किन्ने गरेको किसानको गुनासो छ। 
 
जिल्लामा हाल ५०० हाराहारीमा मौरी पालक किसान छन् ।  किसानको संख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको किसान अधिकारीले बताए । दाङमा मात्रै करीब २०० टनभन्दा बढी मह बिक्री नभएको उनले बताए ।

Logo