प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवलपुरस्थित मौलाकालिका मन्दिर जान संचालनमा ल्याइएको मौलाकाली केबलकारको औपचारिक उद्घाटन गरेका छन्।
सोमबार प्रधानमन्त्री प्रचण्डले आइएमइ ग्रुपले मौलाकालिका मन्दिर र स्थानीय साझेदारसँगको सहकार्यमा संचालनमा ल्याएको केबलकार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।
नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गते नयाँ वर्षका अवसरमा परीक्षण सञ्चालन भएको थियो । तर, औपचारिक रुपमा उद्घाटन भने आज प्रधानमन्त्री प्रचण्डले गरेका हुन् ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् ।
केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ । केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ । केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केवलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ ।































प्रतिक्रिया