९ महिनामा बीमा कम्पनीहरुले कति शुल्क संकलन गरे ?

९ महिनामा बीमा कम्पनीहरुले कति शुल्क संकलन गरे ?

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको श्रावण महिनादेखि चैत मसान्तसम्ममा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्बभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । ९ महिनामा नेपालमा रहेका बीमा कम्पनीहरुले कूल १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको अवधिभन्दा यस वर्ष बीमा शुल्क २ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीले कूल १ खर्ब ३१ अर्ब २४ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । 
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा कूल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

नेपालमा बीमाको पहुँच ४४ दशमलव ५५ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ४४ प्रतिशत पुगेको हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा यस्तो पहुँच ३७ दशमलव ३५ प्रतिशत रहेको थियो ।

त्यस्तै, कुल जीवन बीमालेख संख्या भने २० दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । चैत मसान्तसम्ममा एक करोड ४१ लाख ६५ हजार ९९८ वटा पोलिसी जारी भएका छन् । गत वर्षको सोही अवधिमा उक्त पोलिसी १ करोड १७ लाख ९१ हजार ६९८ वटा जारी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्या ७१ दशमलव १२ प्रतिशतले बृद्धि भएको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैदशिक रोजगार बीमालेख संख्या १४ लाख ५९ हजार ३१५ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमालेख ८ लाख ५२ हजार ८२७ रहेको थियो ।

Logo