वैदेशिक व्यापार : भुटानसँग पनि ५ वर्षमा १ खर्ब घाटा

वैदेशिक व्यापार : भुटानसँग पनि ५ वर्षमा १ खर्ब घाटा


पछिल्लो ५ वर्षमा नेपालले भुटानसँगको व्यापारमा समेत १ खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार रूपैयाँ बराबरको घाटा बेहोरेको छ। बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो। पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि चालू आव ०७९/८० को वैशाख मसान्तसम्ममा काँकडभिट्टा नाका भएर भुटानबाट १ खर्ब ७७ अर्ब ५९ करोड ७५ लाख ४० हजार मूल्य बराबरको मालसामान नेपालमा आयात भएको छ। सोही अवधिमा नेपालबाट भुटानतर्फ निर्यात भने ५० अर्ब ७५ करोड ९२ लाख ३ हजार रूपैयाँ मूल्य बराबरको मात्र भएको छ। ५ वर्षको तथ्यांक विश्लेषण गर्दा नेपाल र भुटानबीचको व्यापारमा नेपालले निर्यातको तुलनामा ३ गुणाभन्दा धेरै मालसामान आयात गरेको देखिन्छ।

पाँचै वर्ष व्यापार घाटा

मेची भन्सार कार्यालयका अनुसार आव ०७५/७६ मा भुटानसँगको व्यापार घाटा १ अर्ब ४२ करोड ९६ लाख ५३ हजार रूपैयाँ थियो।

आव ०७६/७७ मा ९९ करोड ३२ लाख २८ हजार रूपैयाँ, आव ०७७/७८ मा ६१ करोड ४२ लाख ७३ हजार रूपैयाँ, आव ०७८/०७९ मा ९० करोड ८१ लाख ४१ हजार रूपैयाँ र आव ०७९/८० मा ७९ करोड ४५ लाख २ हजार व्यापार घाटा रहेको छ। भुटानबाट नेपालले सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ जिप्सम आयात गर्दै आएको छ। त्यसैगरी नेपालबाट भूटानतर्फबाट सबैभन्दा धेरै फलाम र फलामबाट बनेको मालसामान निर्यात हुँदै आएको छ।

चालू आवको १० महिनामा भुटानबाट १ अर्ब १३ करोड ३९ लाख ३८ हजार रूपैयाँ मूल्य बराबरको जिप्सम आयात भएको छ। सोही अवधिमा नेपालबाट फलाम र फलामबाट बनेका मालसामान ३ अर्ब ७० करोड ३७ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको निर्यात भएको छ।

पर्यटक धेरै

पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने पर्यटकमा भुटानी नागरिकको सङ्ख्या सबैभन्दा धेरै छ।

सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिलसम्मको साढे ३ वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल १ हजार ९१४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेकामा १ हजार ७१८ जना भुटानी नागरिक नै भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए।

सन् २०२० मा १ जनामात्र भुटानी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए। तर सन् २०२१ मा यो सङ्ख्या बढेर १५ पुग्यो भने सन् २०२२ मा ५१९ र सन् २०२३ को हालसम्ममा यो सङ्ख्या अझ बढेर १ हजार ११८ जना पुगिसकेको छ। भुटानी नागरिक आफन्त भेटघाट र तीर्थयात्राका लागि नेपाल आउने गरेको पाइएको छ। काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गाल हुँदै भुटानको सीमा फुन्चोलिङसम्म मोटर बाटोको दूरी मात्र १७२ किलोमिटर छ।

Logo