विदेशमा अलपत्र २९ हजार नेपाली स्वदेश आए, अब निःशुल्क उद्धार गरिंदै

विदेशमा अलपत्र २९ हजार नेपाली स्वदेश आए, अब निःशुल्क उद्धार गरिंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि विश्व नै तीन महिनासम्म लकडाउन भएको थियो । तर पछिल्लो एक महिनादेखि लकडाउन खुकुलो भएको छ भने विश्वका विभिन्न देशले आफ्नो देशका नागरिकलाई उद्धार गरेका छन् ।

नेपालले पनि कोरोनाको प्रभावले लकडाउन भएपछि विदेशमा अलपत्र तथा नेपाल आउन चाहेका नेपाली नागरिकहरु विदेशमा नै अलपत्र परेर बसेका थिए । तर सरकारले गत जेठ २३ गतेदेखि प्राथमिकताका आधारमा उद्धार कार्य सुरु गरेको थियो । यसरी नेपालमा आउन चाहने नेपालीले आउने खर्च भने आफैंले व्यवस्था गरेर आउने गरेका थिए ।

तर अब सरकारले विदेशमा अलपत्र परेका श्रमिकहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले निःशुल्क उद्धार गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको प्रभावले विदेशमा अलपत्र परेका श्रमिकहरुलाई निःशुल्क उद्धारको लागि बनाएको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेसँगै श्रम स्वीकृती लिएर विदेशमा अलपत्र परेका नेपाली नागरिकहरु निःशुल्क आउन पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विदेशमा अलपत्र परेका श्रमिकहरुको उद्धार भइरहेको र थप उद्धारको लागि सरकार लागि परेको छ । सरकारले अहिले निःशुल्क उद्धारका लागि आवश्यक मापदण्ड बनाइएको छ । सरकारले कोरोना भाइरसको असरका कारण दोस्रो मुलुकमा अलपत्र परेका नेपालीहरूको उद्धार कार्यलई तिब्रता दिएको छ । हालसम्म कोरोना असरका कारणले विदेशमा अलपत्र परेका तथा नेपाल आउन चाहने २९ हजार ७८९ जना नेपालीको उद्धार गरिएको छ । बिहिबार मात्रै विभिन्न उडानमार्फत ५ सय ८६ नेपालीको उद्धार गरिएको छ ।

अब गर्ने उद्धार सरकारले निःशुल्क गर्ने भएकाले यसको मापदण्ड बनाइ रहेकाले थप २५ हजार अलपत्र श्रमिक ल्याउने गरी तयारी रहेको मन्त्रालयले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विदेशमा अलपत्र परेका तथा उडान भाडा खर्च बेहोर्न नसक्नेहरुको लागि निःशुल्क उद्धार गर्न लागिएको तथा कोरोना कोषमा जम्मा भएको रकम खर्च गर्ने बताएका छन् । उनका अनुसार विदेशस्थित नियोगले अलपत्र कामदारको अवस्था अध्ययन गरी आवश्यक देखिएमा स्वदेश फिर्ताको निःशुल्क टिकट दिइने भएको छ ।

यस्तो छ नयाँ निर्देशिका

विदेशमा अलपत्र परेकाको उद्धारका लागि सरकारले छुट्टै मापदण्ड बनाएको छ । यो मापदण्ड मन्त्रिपरिदषद्ले स्विकृत गरेपछि मात्रै उद्धार गर्ने प्रक्रिया अगाडि बढ्नेछ । निर्देशिकामा तोकिएका मापदण्डभित्र पर्ने कामदारको टिकटसहितका अन्य खर्च पनि सरकारले नै व्यहोर्ने छ । यसमा सरकारबाट श्रम स्वीकृति लिएर गएकाहरूलाई मात्रै निर्देशिकाले तोकेका सुविधाहरु प्राप्त हुने भएका छन् ।

पहिलो प्राथमिकतामा बिरामी, सुत्केरी, अशक्त, रोजगारी गुमाएका, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका, काजकिरियाका लागि आउनु पर्ने लगायतका संवेदनशील अवस्थाका कामदारको सरकारले निःशुल्क उद्धार गरिने सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिएका छन् । त्यसका लागि विदेशस्थित नियोगले अलपत्र कामदारको अवस्था अध्ययन गरी आवश्यक देखिएमा स्वदेश फिर्तीको निःशुल्क टिकट दिइनेछ ।

कोरोनाबाट प्रभावितहरुलाई सरकारले यस अघिनै उद्धार गर्ने निर्णय गरेको थियो । तर सरकारले निर्णय गरे पनि नेपाल आउने सबै खर्च स्वयं व्यक्तिले नै तिर्नुपर्ने उल्लेख थियो । तर अहिलेको मापदण्डमा सबै खर्च सरकारले नै बेहोर्ने जनाएको छ । सरकारले उद्धार गरे पनि आउने खर्च स्वयंले तिर्न पर्ने भएकाले धेरै नेपालीहरु खर्च जुटाउन नसकेको र महंगो चार्टर उडान भएकोले समस्या परेको भन्दै केहि साता अघि सर्वोच्च अदालतले सरकारलाई श्रमिक उद्धार निःशुल्क गर्न निर्देशन दिएको थियो ।

कुन देशबाट कति उद्धार ?

सरकारले गत जेठ २३ गत अर्थात जुन ५ तारिखबाट उद्धार कार्य सुरु गरेको सरकारले अहिलेसम्म ५४ मुलुकबाट उद्धार गरेको छ । जस अनुसार मलेसियाबाट ३,२२६ जना, युएईबाट ६ हजार ८ सय ७२, कुवेतबाट ५ हजार ५ सय ४९ जना नेपाली स्वदेश ल्याइसकेको छ । त्यसैगरि जापानबाट ७ सय ५६ जना, अफगानिस्तानबाट १८, हङकङबाट ८९ जना, म्यान्मारबाट २६ जना र अष्ट्रेलियाबाट ६ सय ३४ जनाको उद्धार भइसकेका छन् ।

यस्तै बङ्गलादेशबाट ८ सय ४१ जना, ओमानबाट ८ सय ९२, माल्दिभ्सबाट ७ सय ९, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट ३ सय २६ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ३ हजार २७ जना , श्रीलङ्काबाट पाँच, साउदी अरबबाट ४ हजार ८ सय ८७ , दक्षिण कोरियाबाट ४ सय ७६ जना, अमेरिकाबाट ४ सय २३ जना, चाइनाबाट १०५ नेपाल फर्किएका छन् । यी लगायत विभिन्न मुलुकबाट गरी २९ हजार ७ सय ८९ जना अलपत्र तथा नेपाल आउन चाहने नेपाली नागरिकको उद्धार गरिसकिएको सिसिएमसीको तथ्याङकमा उल्लेख गरिएको छ । सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावासमार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ ।

विदेशमा मुत्यु भएका १ सय ७३ शव नेपाल ल्याइयो

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधिमा विदेशमा नै विभिन्न कारणले मुत्यु भएका नेपालीहरुको शवको पनि उद्धार गरिरहेको छ । तर, सरकारले एक महिना अगाडिदेखि विदेशमा मुत्यु भएका उद्धार जारी गरेको छ । लकडाउनको अवधिमा मात्र विदेशमा ३ सय १८ जना नेपालीको विभिन्न कारणले मुत्यु भएको छ । यसमध्ये १ सय १४ जनाको शव विदेशमा नै अन्त्येष्टि गरिएको तथा बाँकी १ सय ७३ शवलाई नेपाल ल्याइएको छ ।

Skip This
Skip This
Logo