यातायात व्यवसायीहरु गाडी सञ्चालन गर्न तयार

यातायात व्यवसायीहरु गाडी सञ्चालन गर्न तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि विभिन्न माग राख्दै आफ्ना मागहरु पूरा नभएसम्म गाडी नै ननिकाल्ने अडान राखेका यातायात व्यवसायीहरु अन्ततः गाडी चलाउन तयार भएका छन् ।

यातायात व्यवस्था विभागमा सोमबार भएको बैठकमा उनीहरु बस संचालन गर्न सहमत भएका हुन् । विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा बसेको बैठकले बस संचालन गर्ने मिति भने बुधबार तय गर्ने निर्णय गरेको छ । बुधबार यातायात व्यवस्था विभागमा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य विज्ञ, यातायातका तीनै ट्रेड युनियन, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतको बैठक बसेर बस संचालन गर्ने निर्णय हुने यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले बताए ।

उनका अनुसार यातायात व्यवसायीसँगको छलफलपछि यातायात संचालनका लागि बनेको निर्देशिका र स्वास्थ्यका मापदण्ड लगायत विषयमा विभागसँग समन्वय गरेर बस संचालन गर्न व्यवसायीहरुलाई अनुरोध गरेकाले यसको विषयमा महासंघले मोडालिटी बनाएर अगाडि बढ्ने भएको छ ।

त्यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीहरुको कुनै माग नभएको बताए । उनले व्यवसायीहरु बस संचालनका लागि सकारात्मक रहेको तथा बस नचलाउने नभनेको बताए । उनले भने, ’सुरक्षा र स्वास्थ्यका कर्मचारी जस्तै चालक र सहचालकको पनि स्वास्थ्य सामाग्री उपलब्ध गराइदिनु पर्ने व्यवसायीहरुले माग गरेका हौं ।’

नाकाबन्दीको त्यस्तो कठिन परिस्थितिमा पनि ज्यान जोखिममा राखेर यातायात चलाएकै हो । उनले भने, अहिले ग्यारेजमा गाडी थन्किएको चार महिना हुन लाग्यो । त्यसैले गाडीलाई मर्मत गर्नुपर्ने भएकाले पनि सडकमा निकाल्न ५÷६ दिन लाग्ने उनको भनाइ छ ।

त्यस्तै सुरुमा माग पूरा नभए यातायात संचालन नगर्ने अडान लिएका व्यवसायीहरुले जिल्लाभित्र मात्र नभइ बाहिरसमेत संचालन गर्न पाउनु पर्ने माग गरेका थिए । लामो, मध्यम सबै दुरीका सवारीसाधन संचालन गर्न स्वीकृति दिनु पर्ने माग गरेका हुन् ।

Logo