बागलुङका कुन पालिकाले कति ल्याए बजेट ?

बागलुङका कुन पालिकाले कति ल्याए बजेट ?

केन्द्रबिन्दु
0
Shares

बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् । 

आर्थिक वर्ष २०८०/८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको छ ।

बागलुङ नगरपालिकाले रू एक अर्ब ३३ करोडको बजेट ल्याएको छ । नगरपालिकाको १३औँ नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सर्शत र समपुरक शीर्षकमा प्राप्त अनुदान, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गरेका थिए । 
 
गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू ६८ करोड १२ लाख १८ हजार बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले वित्तीय समानीकरण अनुदानबाट रू ११ करोड ३८ लाख, राजस्व बाँडफाँटबाट रू १० करोड ९५ लाख, सशर्त अनुदानबाट रू ३६ करोड १० लाख, विशेष अनुदानबाट रु एक करोड ५० लाखसहितको बजेट पेस गरे ।

त्यस्तै  जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू ७२ करोड चार लाख ६८ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख हरिहर शर्माले रू ७२ करोड चार लाख ६८ हजार सात सयको बजेट प्रस्तुत गरेका हुन् ।  

त्यसैगरी, ढोरपाटन नगरपालिकाले रू ५५ करोड २४ लाखको बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख धनबहादुर कायतले नगर सभासमक्ष, आन्तरिक आम्दानी, सङ्घीय सरकार र प्रदेश सरकारको अनुदानका आधारमा रू ५५ करोड २४ लाखको बजेट नगरसभासमक्ष पेस गरेको बताए । 

त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाले रू ३० करोड ३८ लाख ४९ हजार बजेट ल्याएको छ । तमानखोला गाउँपालिकाको चालु खर्च रू चार करोड ४० लाख, सङ्घीय सशर्त अनुदान रू ११ करोड ७५ लाख, समपुरक अनुदान रु ७० लाख, सङ्घीय विशेष अनुदान रू ९० लाखका आधारमा बजेट तयार गरिएको हो ।  

बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू ५६ करोड १२ लाख ३४ हजारको बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष तेजबहादुर थापा तिलकले बजेट प्रस्तुत गरेका थिए । 

बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को लागि गाउँपालिका उपाध्यक्ष भीमसेन बनले प्रस्तुत गरेको बजेट पारित भएको हो । 

त्यस्तै ताराखोला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि रू ३६ करोड ६७ लाख ९३ हजार बजेट पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोकाले आन्तरिक आम्दानी, सङ्घीय सरकारको विभिन्न शीर्षक अन्तर्गतको अनुदान र गण्डकी प्रदेशको विभिन्न शीर्षकको अनुदान अन्तरगत आगमी आर्थिक वर्ष २०८०/८१ का लागि रू ३६ करोड ६७ लाख बजेट गाउँसभा समक्ष पेस गरेका छन् । 

यस्तै बरेङ गाउँपालिकाले रू ३१ करोड २९ लाख ८१ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष दिलीपकुमार पुनले गाउँसभामा आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट प्रस्तुत गरेका छन् । 
    
जिल्लाको निसीखोला गाउँपालिकाले रू ४६ करोड ४६ लाख ८० हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले सङ्घीय अनुदान, प्रदेश अनुदान र आन्तरिक आयका आधारमा उक्त बजेट पेस गरेका हुन् । 

गाउँपालिकाले सामाजिक विकासमा २० प्रतिशत, पूर्वाधारमा ३५ प्रतिशत, आर्थिक विकासमा २० प्रतिशत, सुशासन र वनमा १०/१० प्रतिशत बजेट बाँडफाँट गरेर सभामा पेस गरेको हो । 

Logo