जुम्लामा नुनको अभाव छैन, १७ सय क्विन्टल मौज्दात छः साल्ट ट्रेडिङ

जुम्लामा नुनको अभाव छैन, १७ सय क्विन्टल मौज्दात छः साल्ट ट्रेडिङ

केन्द्रबिन्दु
0
Shares

जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको जनाइएको छ। यहाँस्थित डिपोमा अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए। सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख मल्लले भने,“जिल्लामा नुनको अभाव हुने छैन। अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ। वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ।”

गएको असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाँडभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए। गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकामस्थित डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ।

गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार २०० क्विन्टल नुन कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट ३२० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए। वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला गाउँपालिका-१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिए।

Logo