निःशुल्क पार्किङ्ग स्थानबाट शुल्क लिएको गुनासो आएपछि महानगरपालिकाले ताेक्याे सम्पर्क अधिकारी

निःशुल्क पार्किङ्ग स्थानबाट शुल्क लिएको गुनासो आएपछि महानगरपालिकाले ताेक्याे सम्पर्क अधिकारी

केन्द्रबिन्दु
0
Shares

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारी ताेकेकाे छ।  

व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको हाे। 

शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। उनले सेवा लिएका ठाउँबाट पार्किङ्ग शुल्क लिए तत्काल ९८५१० ५१६१० मा सम्पर्क गर्न अनुरोध गरेका छन्। 

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट,सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ। व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन्।
 
सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ्ग सञ्चालन गर्न अनुमति दिइने छैन।  ऐनले निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिनेछ । 

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।

यो ऐन जारी भएकाबखत महानगरपालिकाले अवधि तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ। 

यस्ता स्थानमा पार्किङ्ग गराउँदा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र वहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नु पर्नेछ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ्ग सञ्चालन व्यवस्थापन हुनेछ । 

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ ।

यस क्षेत्रमा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ । 

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।  

निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ ।

यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ। 

Skip This
Skip This
Logo