त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा आएको छ ।
विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुनका गरगहना, विदेशी मुद्रा, टीभी तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छली अनुसार कारबाहीको भागीदार हुने गरेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले स्वघोषणा कक्ष सञ्चालन ल्याएपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने भएका छन् ।
यो सुविधाअनुसार यात्रुले अध्यागमन कक्ष पार गरेपछि परीक्षण एक्सरे मेशिनमा पुग्नु अगावै स्वयं घोषणाको सुविधा पाउँछन् । त्यहाँ भन्सार कार्यालयका कर्मचारी नियमितरुपमा उपस्थिति हुनेछन् ।
यसअघि यात्रुहरु मापदण्डभन्दा बढी सामान लैजाने र भन्सार तथा प्रहरीको कारबाहीमा पर्ने गरेका थिए । त्यस्तो अवस्थामा मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामासमेत पुग्ने गरेकोमा यो कक्ष सञ्चालनमा आएपछि अब यात्रुहरुलाई सहज हुने भएको छ । पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । सो बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताए ।
गहनाको आकारमात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको छ । मोबाइलको हकमा विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।
श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ । यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने प्रमुख पाण्डेले बताए ।
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था नयाँ नियममा छ ।
यसैगरी ५ हजार अमेरिकी डलरमाथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क वुझाउनु नपर्ने भन्सार कार्यालयले स्पष्ट पारेको छ ।





























प्रतिक्रिया