अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विश्वको एक अर्ब जनसंख्यालाई पुग्ने पानीको स्रोत रहेको दाबी गरेका छन् ।
विश्व वातावरण कोषको साताैं एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दाबढी जनसंख्याको लागि पानीको श्रोत नेपालमा रहेको बिषय विश्व समुदायसामू दाबी गरेका हुन् ।
उनले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको पनि बताए ।
नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा ईमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको मन्त्री महतले बताए ।
जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १०औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढीपहिरो अतिबृष्टि सुख्खा साथै हिमताल विस्फोटको जोखिम समेत बढेकोतर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराए ।
मन्त्री महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै श्रोत अतिप्रभावित मुलुकहरुमा केन्द्रित गर्न आग्रह गरेका छन् ।
मन्त्री महत विश्व वातावरण सुविधाको साताैं एसेम्बलीको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । मन्त्री महतले उपाध्यक्षको हैंसियतमा प्लेनरी सेसनको अध्यक्षता समेत गरेका छन् । यसैक्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्धिपक्षीय विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।































प्रतिक्रिया