उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को काम प्रभावकारी बनाउन निर्देशन दिएका छन्। शनिबार भैरहवा स्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को अनुगमन तथा निरीक्षण गर्दै मन्त्री रिजालले मातहतका कर्मचारीलाई आईसीपीको सेवा चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन्।
मन्त्री रिजालले आईसीपीको आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केहि समय लाग्ने बताएका थिए। तर,उनले नीतिगत बाहेकका समस्या समाधानमा आफ्नो साथ रहने पनि प्रतिवद्धता गरे।
मन्त्री रिजालले शनिबार नै भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) को पनि अनुगमन गरे। अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले रिजाललाई सेजको स्थलगत जानकारी दिँदै समस्या समाधानको लागि आग्रह गरे।
रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजको लागि सरकारले तोकेको ६० रुपैयाँ प्रति स्क्वायर मिटर जग्गा मुल्यलाई घटाएर प्रति स्क्वायर ८ देखि १० रुपैयाँ सम्म बनाउन पहल गर्ने मन्त्री रिजालले स्पष्ट पार्नुभएको छ।’रिजालको सचिवालयले जनाएको छ।
आईसीपी र सेजको अनुगमन पश्चात मन्त्री रिजालले भैरहवाका उद्योगी व्यवसायीहरुसँग भेटघाट गर्दै उनीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका छन्।





























प्रतिक्रिया