नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे)बीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौता अनुरूप आईएमई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि क्यानले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ ।
सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाईन टिकेटको विक्रीको जिम्मेवारी पनि आईएमई पेले पाएको छ । राजधानी काठमाण्डौमा बिहीबार सम्पन्न एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका थिए ।
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आईएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए । 'नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नुपर्ने अवस्था रहेको छ। यसै बिचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो। यो साझेदारी बनाउने मौका दिएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट संघको तर्फबाट आई एम ई डिजिटल सोलुसन लिमिटेडलाई हार्दिक धन्यवादसमेत ज्ञापन गर्न चाहन्छु।' उनले भने ।
यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्। 'आइएमई पे'को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि उनले बताए ।
यसैगरी आइएमई ग्रुपले क्रिकेटर करण केसी र सोमपाल कामीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ ।





























प्रतिक्रिया