फूल व्यापारी भन्छन्- ‘नयाँ ठाउँमा फूल खोज्दै कोही आएन, बिकेकै छैन’ [भिडियाेसहित]

फूल व्यापारी भन्छन्- ‘नयाँ ठाउँमा फूल खोज्दै कोही आएन, बिकेकै छैन’ [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले स्वदेशी उत्पादनको फूल सहुलियतमा बिक्रीका लागि निश्चित स्थान तोकेको छ । त्यसरी तोकिएको स्थानमा लगेर फूल बिक्री गर्न बसेका व्यवसयीहरु निरास बनेका छन् ।

नयाँ ठाउँ र उपभोक्तालाई अपायक पर्ने स्थान भएकाले फूल बिक्री नै नभएको भन्दै उनीहरूले यसबाट आफूहरूलाई निकै घाटा पर्ने गुनासो पनि गरेका छन्। फूल बेच्ने निश्चित स्थान तोकेर व्यवस्थित गर्नु राम्रै भए पनि अलि अगाडि गर्नुपर्ने काम निकै ढिलो गरेकाले समस्या भएको व्यवसायीको भनाइ छ ।

महानगरले स्वदेशी उत्पादन बिक्रीका लागि निश्चित स्थान तोक्ने काम गरे पनि त्यो ढिलो भएको र उपभोक्ताहरुसम्म जानकारी पनि पुग्न नसकेकाले फूल खोज्दै आउनेहरू नभएको उनीहरुको भनाइ छ । शनिबार महानगर, नेपाल फ्लोरिकल्चयर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सले सयुक्त रूपमा काठमाडौँको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा मात्रै फूलको व्यापार गर्न निर्देशन दिएका थिए । 

उक्त निर्देशनपछि फूल व्यापारीहरू तोकिएको स्थानमा गए पनि बिक्री नहुँदा आक्रोशित भएका छन् । असन, इन्द्र चोकतिर रोडको पेटीमा बेच्ने गरेको फूललाई कसैले पनि नचिनेको स्थानमा ल्याएर राखेको भन्दै फूल व्यापारी अशोक अधिकारीले गुनासो गरेका छन्। उनले सरकारले भारतबाट फूलको आयात बन्द गर्ने भएपछि किसानहरुले फूलको खेती गरेको तर अहिले व्यापार प्रभावित हुने गरी व्यवस्था गरेको भन्दै फूलको बिजोग मात्रै भएको बताए।

उनले भने, ‘सरकारले भारतबाट फूल आउन नदिने भयो, किसानहरुले फूलको खेती बढाए । अहिले बिजोग छ । बिकेकै छैन । असन, इन्द्र चोकतिर सडकको पेटीमा बेच्ने गरेका थियौँ । त्यता हुँदा धेरै ग्राहकहरू फूल खोज्दै आउँथे । अहिले त्यहाँ बेच्न नपाएर यहाँ आएका छौँ । यहाँ माला बेच्न राखेको पहिलो पटक हो त्यसकारण यहाँ किन्न मान्छेहरू नै आउँदैनन् । जस्तो ल्याएर राखेको त्यस्तै छ, सोध्न आउने पनि कोही छैनन् ।’

चाडवाड आएका बेला अलिकति पैसा कमाउँ, चेलीबेटीलाई बोलाउँ भन्ने सोचले फूल बेच्न आएका व्यापारीहरुको विजोग भएको उनले बताए । उनले भारतबाट फूल ल्याउन बन्द गरिएको भने पनि भित्रन नछाडेको भन्दै सरकारले जनतालाई आवश्यक भएको कुरा आयात गर्न छोडेर नेपाली किसानलाई मार पर्ने हिसाबमा फूल ल्याएको आरोप लगाए । यस्तै, अर्का व्यापारी चतुरी विकले पहिला जेजसो भए पनि बेचेर जाने गरेकामा अहिले मान्छे नै नआउने स्थानमा ल्याएर राख्दा घर जान पुग्ने पैसा पनि नउठेको गुनासो पोख्छिन् ।

उनले यसपालि पहिलाकै स्थानमा बस्न दिएर अर्को वर्षदेखि यसरी राखेको भए थोरै पैसा भए पनि आउने भन्दै आज एक दिनका लागि यसरी रोक नलगाएको भए हुने बताइन्। उनले भनिन्, ‘पहिला जेजसो भए पनि बेचेर जाने गरेका थियौँ। यसपालि घर जाने पैसा पनि नउठ्ला जस्तो भएको छ। यस्तो हुने हो भने त्यहाँदेखि आएको केही फाइदा छैन। जे गरे पनि मर्ने भनेको गरिब किसान नै हो। यस्तो कोही नआउने स्थानमा ल्याएर राख्दा बिक्री भएको छैन। यसपालि पहिलाकै स्थानमा बस्न दिएर अर्को वर्षदेखि यसरी राखेको भए हुन्थ्यो।’

महानगरपालिकाले फूल बेच्नका लागि तोकिएको केन्द्रको विषयमा हप्ता दिन अगाडि नै जानकारी र प्रचार गरेको भए केही पैसा कमाउने मौका पाउने अवस्था हुने तर ढिला गरी यस्तो व्यवस्था गरिएकाले मर्कामा परेको फूल व्यापारी दिपक गिरी बताउँछन्। उनले आजबाट बेच्न ल्याएको फूल बेकार भएको भन्दै यसको जिम्मेवारी महानगरले लिने हो कि कसले लिने भन्दै प्रश्न पनि उठाएका छन्। 

उनले भने, ‘महानगरपालिकाले फूल बेच्न तोकिएको केन्द्रको विषयमा हप्ता दिन अगाडि नै जानकारी र प्रचार गरेको भए सजिलो हुन्थ्यो। केही पैसा कमाउने मौका हुन्थ्यो तर तर अब यो फूल आजबाट काम नलाग्ने हुन्छ ।’ फूल तत्कालै बिक्री गर्न नसके बिग्रिएर जाने भन्दै गिरीले यसबाट धेरै नोक्सानी हुने बताए । धेरैजसो ग्राहकहरूलाई फूल कहाँ पाइन्छ भन्ने जानकारी नै नभएकाले कोही खोज्न नआएको उनको भनाइ छ।

उनले भने, ‘आज बिक्नुपर्ने सामानहरू नबिकेपछि के छ महानगरपालिकाको योजना रु महानगरले भारतीय फूललाई प्रतिस्थापन गर्नुपर्छ भनेर नेपाली फूललाई प्रवर्द्धन गर्ने कुरा गरेको थियो। हामीले त्यही हिसाबमा फूल लिएर आयौँ। तर बिकेको छैन । यो फूललाई महानगरले उचित मूल्य दिएर व्यवस्थापन गर्नुपर्छ।’

भिडियाे- https://fb.watch/ogqUDmY6I5/

Skip This
Skip This
Logo