बैंकमा कोरोना असर : लगानी खुम्चिँदा तनावमा बैंकर्स

बैंकमा कोरोना असर : लगानी खुम्चिँदा तनावमा बैंकर्स

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
मुलुकमा लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने नयाँ कर्जा लगभग ठप्पै छ ।

लकडाउन हुनुभन्दा केही समय अघि तरलता (लगानी योग्य पूँजी) अभाव भएको भन्दै पूराना र सम्झौता भएका कर्जा मात्रै प्रवाह गरेका थिए । तरलताको अभाव भएको भन्दै ऋणको प्रशस्त माग आउँदा पनि नयाँ कर्जा प्रवाह नगरेका बैंकर्स अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रेको तथा लगानी गर्न नपाएको भन्दै चिन्तित छन् ।

चिन्तित पनि कसरी नहुन् , लकडाउनको अवधीभरमा बैंकिङ प्रणालीमा करिब ८८ अर्ब रुपैँयाँको हाराहारीमा निक्षेप थुप्रिएको छ । अहिले संचालनमा कुल २७ वाणिज्य बैंकहरु छन् । यी बैंकले सो निक्षेप लकडाउनको अवधीमा संकलन गरेका हुन् । तर, लकडाउनका समयमा नयाँ कर्जा विस्तार भने निकै खस्किएको बैंकर्स संघले जनाएको छ । संघका अनुसार यस समयमा बैंकहरुको कर्जा विस्तार ३० अर्वको हाराहारीमा खुम्चिएको छ । त्यसो त नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको आर्थिक अवस्थाले पनि कर्जाको लगानी घटेको देखाएको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । गत वर्षको १० महिनाको तुलनामा यस आर्थिक वर्षको १० महिनामा ६ प्रतिशत विन्दुले कर्जा लगानी घटेको देखिएको छ । राष्ट्र बैंकका अनुसार १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो । गत वर्षको १० महिनाको अवधीको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा बैंकको निक्षेप पनि घटेको छ ।

यस अवधीमा कर्जामा संकुचन आए पनि निक्षेपमा भने त्यति संकुचन नआएको बताउँछिन् , नेपाल बैंकर्स संघकी सदस्य तथा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली । लकडाउनले यतिन्जेल नयाँ कर्जा प्रभावित बनाए पनि अब भने विस्तारै कर्जाको माग बढ्ने खुञ्जेलीको भनाइ छ । सरकारले लकडाउन खुकुलो बनाएपछि भने केही मात्रामा कर्जा जाने उनले बताइन् । ‘अबको एक हप्तापछि नयाँ कर्जा विस्तार होला ।’ संघकी सदस्य खुन्जेलीले भनिन् ।

राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा करिब ६६ अर्ब रुपैँयाँ अधिक तरलता छ । अहिले बजारमा ऋणको माग कम भएकाले बैंकिङ प्रणालीमा तरलता बढेको देखिएको छ । बैंकमा तरलता थुप्रिएसँगै बैंकहरुले गत वैशाखदेखि नै निक्षेपको ब्याजदर पनि घटाउन थालेका छन् ।

Logo