एनसेल कर्मचारी ट्रेड युनियनले एनसेल आजियटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको ‘रेनोल्ड्स होल्डिङ्स’को शेयर खरीद विक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भएका ‘अनर्गल’ प्रचारबाजीप्रति ध्यानाकर्षण भएको बताएको छ ।
युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीको शेयर खरीद विक्री हुनु सामान्य प्रक्रिया रहेको र एनसेल बहुराष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास बमोजिम कारोबार गर्नु स्वाभाविक भएको बताएकाे हाे । एनसेल आजियटाको शेयर खरीद विक्री सम्बन्धमा सरकारले छानबिन समिति गठन गरी सत्यतथ्य छानबिन प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा पनि अनर्गल प्रचार हुनु छानबिन प्रतिवेदनलाई नै प्रभावित पार्ने दुराशयबाट प्रेरित भएको युनियनको आरोप छ ।
शेयर खरीद विक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक नपरेको विज्ञप्तिमा उल्लेख छ ।
एनसेलले नियमित रूपमा कर तिर्दै आएको प्रसंग उल्लेख गर्दै युनियनले हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्क भुक्तानी गरिसकेको बताएको छ ।
‘कम्पनीमा स्पेक्ट्रलाइट यूके लिमिटेडमार्फत नेपाली मुलका लगानीकर्ता भित्रिएसँगै हामी नयाँ जोश र जागरका साथ अगाडि बढ्ने छौं र नयाँ लगानीकर्ता स्पेक्ट्रलाइट यूकेलाई स्वागत गर्न चाहन्छौं । कम्पनीको शेयर होल्डिङ् परिर्वतनलाई अब एनसेल कम्पनीनै नेपालमा छैन जत्तिकै गरि कम्पनीकै व्यवसायिक छविमाथि आँच आउने गरि भएका/गरिएका प्रचारबाजी प्रति सजग रहन एनसेलका सम्पूर्ण ग्राहकहरु, व्यवसायिक साझेदारहरु तथा आम नेपाली जनताहरुलाई आर्दिक अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्दै देशका दूर–दराजसम्म नेटवर्क विस्तार गरी एक करोड साठी लाखभन्दा धेरै जनतालाई दूरसञ्चार सेवा दिएको छ । प्रत्यक्ष अप्रत्यक्ष गरी २५ हजारभन्दा बढी रोजगार सृजना गरेको छ ।’
युनियनले थपेकाे छ, ‘हरेक सरकारी कार्यालयमा एक सूचना अधिकारि तोकिएकै हुन्छन् । सूचना प्राप्तिको यति सरल विधि हुँदाहुँदै पनि सम्बन्धित निकायमा गएर नबुझी, सस्तो लोकप्रियताको लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत कम्पनीको छवि नै धुमिल्याउने गरि उछितो काड्नु निन्दनीय छ ।’





























प्रतिक्रिया