सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट सार्वजनिक

सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालूतर्फ रु १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पूँजीगततर्फ रु १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको जानकारी दिए।

यसैगरी विनियोजनमध्ये अन्तर सरकारी वित्त व्यवस्थापनतर्फ रु दुई अर्ब १३ करोड ५० लाख र वित्त व्यवस्थातर्फ रु ३० करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व परिचालनवाट रु ६० करोड ७० लाख ३० हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु सात अर्ब ८७ करोड ३६ लाख, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट बाँडफाँट भई आर्थिक वर्ष २०७६÷०७७ मा रोयल्टीबापत रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान रु आठ अर्ब सात करोड ६८ लाख र चालू आवको विनियोजनबाट बचत हुने अनुमानित रकमसमेतबाट रु चार अर्ब ३९ करोड ३५ लाख, सङ्घीय सरकारको समपूरक अनुदानबाट अनुमान गरिएको रु एक अर्ब २६ करोड २९ लाख, विशेष अनुदानबाट अनुमान गरिएको रु ४८ करोड ५० लाख र विकास साझेदारबाट बजेट प्रणालीमार्फत परिचालन हुने सहायता रकमबाट रु एक करोड ८९ लाख १५ हजार आय स्रोत प्राप्त हुने अनुमान गरिएको मन्त्री बोहराले जानकारी दिए ।

बजेटमा महामारी सङ्क्रामक लगायत सबै प्रकारका रोग र विपद्को जोखिमबाट प्रदेशका नागरिकको जीवनरक्षा गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण सिथिल भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, कृषिमा आत्मनिर्भरता हासिल गर्न उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै खाद्यसुरक्षा र पोषणको अवस्थामा सुधार गर्ने, गुणस्तरीय आधुनिक स्वास्थ्य सेवा प्रणालीको विकास गर्ने, नागरिकको मौलिक हक र अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत राज्यको लोककल्याणकारी भूमिका वृद्धि गर्ने मूलभूत उद्देश्य राखिएको उल्लेख छ ।

रोजगारी र स्वरोजगारी सिर्जना गरी अर्थतन्त्रलाई गतिशील बनाउने, समग्र आर्थिक स्थायित्व कायम गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने बजेटको मूल उद्देश्य रहेको मन्त्री बोहराले जानकारी दिए।रासस

Logo