काठमाडौं ।
राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिव रञ्जन पौड्यालले आसामान्य अवस्थामा स्थानीय सरकारहरुले प्राथमिकताका आधारमा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका छन् ।
उनले कोभिड १९ पछि मुलुकभरको आर्थिक गतिविधिमा शिथिलता आएसँगै स्थानीय सरकारको बजेटको आकार पनि खुम्चिने भएकाले भ्यु टावर, रंगशाला बनाउने जस्ता योजना भन्दा उत्पादन र रोजगार मुलुक कार्यक्रमलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका हुन् । कृषि तथा पशुपालन लगायत उत्पादन क्षेत्रसँग रोजगारीलाई जोडेर बजारीकरणमार्फत राजश्व वृद्धि गर्ने तर्फ स्थानीय सरकारहरु केन्द्रीत हुनुपर्ने उनले उल्लेख गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय इन्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजले शनिबार गरेको कार्यक्रममा उनले स्थानीय सम्भावना र अवसरलाई अध्ययन गरि उपार्जन गर्न सक्ने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।
उनले भने “बाटो, पुल थप्ने , भ्यु टावर बनाउने तर्फ नभई उत्पादन कसरी बढाउने, रोजगारीमा वृद्धि लगायत विषयमा प्राथमिकता दिनुपर्छ । पैसा बाँढ्ने पनि होइन । त्यसलाई रोजगारीसँगै जोडौ । सरकारी तथा ऐलानी जग्गा भए स्थानीय तहसँग मिलेर सार्वजनिक गर्ने, राजश्व बढाउनका लागि पशुपालन, कृषि, पर्यटन, स्वास्थ्य सेवाको विस्तार जस्ता अवसर र सम्भावनालाई केलाएर उपार्जन गर्न सक्ने कार्यक्रम अगाडि बढाउनु पर्छ । ”
कार्यक्रममा अर्थ मन्त्रालयका सह–सचिव झक्कप्रसाद आचार्यले विगतको जस्तो सामान्य अवस्था नभएकाले खर्चको प्राथमिकता परिर्वतन भएको बताए । उनले संकटमा भएकाले स्थानीय सरकारको प्राथमिकता भ्यू टावर बनाउने, रंगशाला बनाउने भन्दा पनि उत्पादन वृद्धि गरि राजश्व बढाउने र रोजगारी वृद्धि गर्ने तर्फ केन्द्रीत हुनुपर्ने बताए । संघीय सरकारले प्रतिवद्धता जनाएको रकम पनि सामान्य अवस्था नभए उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी स्थानीय सरकारहरु सजग हुँदै काम गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, “खर्चको प्राथमिकता परिर्वतन भएको छ । हिजोको जस्तो नर्मल अवस्थामा छैनौं । अब हामी क्राईसिसमा छौं । क्राईसिसमा हुँदा के काम गर्ने के काम नगर्ने ? अहिले भ्यू टावर बनाउने, रंगशाला बनाउने भन्ने बेला होइन यो । मैले नबनाउने भनेको होइन । प्राथमिकतामा राख्नु पर्यो । दुई , तिन , चार प्राथमिकतामा राख्नु पर्यो । स्थानीय सरकारहरुको अग्नि परीक्षा छ । ”
उनले वित्तिय अनुशासन कायम नभए विदेशी निकायले पनि ऋण नदिने अवस्था उत्पन्न हुने भएकाले त्यसतर्फ गम्भीर बन्न स्थानीय सरकारका पदाधिकारीलाई सचेत गराए । त्यसैगरी संघीय सरकारको सहलगानी र शसर्त लगानीमा आउन सक्ने समस्यातर्फ पनि समयमै सचेत भई अनिवार्य दायित्व र वित्तिय राजश्वको दायरा विचार गरेर स्वास्थ्य, कृषि , शिक्षा, खानेपानी, रोजगारी श्रृजनासँगै चालु कार्यक्रमलाई निरन्तरता दिईनु पर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा सहभागी स्थानीय सरकारका पदाधिकारीहरुले केन्द्रीय सरकारले आफुहरुको समस्या नबुझेको गुनासो गरे । संकटको समयमा विद्यमान स्रोत साधन र पुर्वाधार नै नहेरी संघीय सरकारबाट आफुखुसी नियम, निर्देशिका र कार्यविधि बनाएर स्थानीय सरकारलाई लागु गर्न निर्देशन दिने गरिएकाले समस्या भएको तर्क उनीहरुले गरे । कार्यक्रममा ललितपुर उपमहानगरपालिकाका उपमेयर गीता सत्यालले सिमित बजेटका कारण संकटको समयमा संघीय सरकारले बनाएका कतिपय कार्यविधिलाई पालना गर्न कठिन हुने गरेको गुनासो गरिन् । लकडाउनसँगै राहत वितरण सम्बन्धी संघीय सरकारको कार्यविधिलाई हुबहु पालना गर्न स्थानीय सरकारलाई कठिन भएको गुनासो गरिन् ।
महालक्ष्मी नगरपालिकाका उपमेयर निर्मला थापाले संघ र प्रदेश सरकारले स्थानीय सरकारको समस्या नबुझेको टिप्पणी गरिन् । उनले भनिन् , “नेपाल सरकारले स्थानीय सरकारसँग सहकार्य नगरीकन आफैले माथिबाट झुण्ड्याएर राखेको छ । संघ, प्रदेश सरकारले पनि हामीसँग कोअर्डिनेट गर्नुपर्छ । आखिर झेल्नु पर्ने ,स्थानीय तहमा गएर काम गर्नुपर्ने त हामीले हो नि । हामीलाई परेको पीरमर्का केन्द्रीय सरकार, प्रदेश सरकारले बुझेको छैन । कर्मचारीहरुले त झन बुझ्नु नै भएको छैन । ”
स्थानीय सरकारका पदाधिकारी र कर्मचारीलाई कोभिड १९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने सम्बन्धमा अनलाईन प्रशिक्षण दिइएको हो ।































प्रतिक्रिया