दक्षिण एशियाकै ठूलो इभेन्ट इण्डुज फुड टेक भारतको ग्रेटर नोयडामा शुरू

दक्षिण एशियाकै ठूलो इभेन्ट इण्डुज फुड टेक भारतको ग्रेटर नोयडामा शुरू

केन्द्रबिन्दु
0
Shares

खाद्य तथा पेयपदार्थ सम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेक सोमबारबाट भारतीय शहर ग्रेटर नोयडामा शुरू भएको छ । खानेकुरा तथा पेय पदार्थ सम्बन्धी यो प्रदर्शनी दक्षिण एशियाकै सबैभन्दा ठूलो कार्यक्रम हो ।

भारतसहित दक्षिण एशियाली राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको इण्डुज फुड टेकमा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीसहित करिव ४५ जना उद्यमी व्यवसायीले भाग लिइरहेका छन् ।

इण्डुज फुड टेकमा महासंघका सदस्य वस्तुुगत संघहरू नेपाल अलैची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन,नेपाल कफी व्यवसायी महासंघ, नेपाल हव्र्स एण्ड हर्वल उत्पादक संघमार्फत विभिन्न ७ वटा नेपाली कम्पनीहरूले स्टल राखेका छन् भने अन्य नेपाली कम्पनीहरुको पनि सहभागिता रहेको छ । प्रदर्शनीमा नेपाली कफी, चिया, जडीबुटी, खाद्य प्रशोधन, खाद्यान्न उत्पादन लगायतका स्टलहरू छन् ।

प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नविनतम प्रविधिको विस्तार, अन्तराष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशिल बनाउँदै लैजाने मुख्य हवको रूपमा हेरिएको छ । प्रदर्शनीको सोमवार विहान भारत सरकारका वाणिज्य तथा उद्योग सचिव सुनिल बर्थवाल ले समुदघाटन गरेका थिए, भने वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले भर्चुअल माध्यममार्फत सम्बाेधन गर्दै प्रदर्शनीले भारतसहित सिंगो दक्षिण एशियालाई विश्व खाद्य चेनसंग जोड्ने दावी गरेका थिए ।

प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधि सहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको छ । इण्डुज फुड टेकमा भारत सहित १ सय देशका २ हजार ५ सय भन्दा बढी कम्पनीहरूले भाग लिएका छन् ।

इण्डुज फुड टेकमा सहभागिताबाट नेपाल जस्ता मुलुकलाई खाना तथा खाद्य उद्योगमा आएको नविनतम प्रविधि, बजार प्रर्वद्धन, अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवं नयां नयां सोंचलाई मुलुकभित्र ल्याउन सहयोग पुग्ने विश्वास महासंघको रहेको छ । सन् २०१८ बाट शुरू हुन थालेको यो प्रदर्शनीमा महासंघले नियमितरूपमा भाग लिँदै आएको छ ।

प्रदर्शनीमा भाग लिन गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघको व्यापार मेला समितिका सभापति उमेश डालमिया, घरेलु तथा साना उद्योग समितिका सभापति नरेन्द्र कुमार खड्का, स्वास्थ्य तथा विपत व्यवस्थापन समितिका सभापति भक्त बहादुर हमाल, मेला समितिका उपसभापति सविनलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्य केशव प्रसाद भण्डारीसहितको उद्यमी व्यवसायीको सहभागिता रहेको छ ।

Skip This
Skip This
Logo