प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसवर्ष आयोजना भएका विभिन्न मेला र महोत्सवहरु अर्थतन्त्र सुधारको प्रमाण भएको तर्क गरेका छन् ।
सोमबार अर्घाखाँचीको महोत्सवलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकामा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको उल्लेख मात्रै गरेनन् हाल आयोजना भइरहेका मेला–महोत्सवलाई त्यसको प्रमाण भनेर अर्थ्याएका हुन् ।
अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू विरलै भएको उल्लेख गर्दै उनले यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभ संकेत भएको बताए । उनले यस वर्ष आर्थिक सुधार हुनेमा जोड दिँदै भने,‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू विरलै हुने गर्दथे । तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन् । विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय संघ संस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन् । अर्को वर्ष हामीले राम्रो प्रगति गर्नेछौं ।’’
यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति भएको र त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढेको जिकिर गरे । ‘भारत भ्रमण, विश्व खाद्य सम्मेलन, चीन भ्रमण, संयुक्त राष्ट्रसंघको महासभा, विश्व जलवायु सम्मेलन (कोप–२८)संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण लगायतबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति हुनुका साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण पहल लिइएको छ । केही दिनमा युगान्डामा हुने असंलग्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नेतृत्व गरी मैंले सम्बोधन गर्दैछु । यसले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रभाव थप विस्तार हुने मैंले विश्वास लिएको छु,’प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया