सवारी चालक अनुमति पत्रमा नयाँ व्यवस्था, अब ८० प्रतिशतसम्म परीक्षार्थी उत्तीर्ण हुन सक्ने

सवारी चालक अनुमति पत्रमा नयाँ व्यवस्था, अब ८० प्रतिशतसम्म परीक्षार्थी उत्तीर्ण हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नयाँ यातायात व्यवस्थापन कार्यविधि लागू भएपछि सवारी चालकपत्रको प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागी ६० देखि ८० प्रतिशतसम्म परीक्षार्थीले चालक अनुमतिपत्र प्राप्त गर्ने भएका छन् ।

यातायात व्यवस्था विभागले लागू गर्न लागेको यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६० को दफा १२.९ को लिखित परीक्षा सञ्चालन र १२.१४ को प्रयोगात्मक परीक्षा र अन्तिम नतिजा प्रकाशन सम्बन्धी संशोधनले यस्तो व्यवस्था गर्न लागेको हो । कानुनी व्यवस्था संशोधन भएसँगै सवारी चालक अनुमतिपत्रका लागि सहभागी हुने ६० देखि ८० प्रतिशत परीक्षार्थी लाभान्वित हुने विभागले प्रक्षेपण गरेको छ ।

विगतमा प्रयोगात्मक परीक्षामा शतप्रतिशत ल्याएमा मात्र उत्तीर्ण हुने व्यवस्था रहेकोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि तयार पारिएको संशाेधित कार्यविधि अनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ६० अंक ल्याए पुग्छ भने लिखितमा पुरानै व्यवस्था अनुसार ५० प्रतिशत अंक ल्याए पुग्छ । लिखितमा समेत सहज बनाउँदै विभागले एक आर्थिक वर्षमा एक हजार प्रश्न परीक्षा अगावै सार्वजनिक गर्ने पनि जनाएको छ ।

ट्रायल परीक्षामा सहभागीले प्रयोगात्मकतर्फ ६० अंक ल्याए सवारी अनुमतिका लागि योग्य हुने गरी कार्यविधि संशोधन गर्ने प्रस्ताव गरिएको छ । यसबाट परीक्षामा कुल सहभागी ८० प्रतिशतसम्म उत्तीर्ण हुनसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । “मुख्य (मेजर) र सामान्य (माइनर) मा वर्गीकरण गरेर माइनर टेस्टमा पास नभए पनि अंकभार दिँदा परीक्षार्थीले ६० अंक ल्याएमा सवारी चालक अनुमति पत्रका लागि योग्य हुनेछ,” उनले भने, “नयाँ मापदण्ड लागू भएसँगै ट्रायलमा ६० देखि ८० प्रतिशत परीक्षार्थी पास हुने हामीले अनुमान गरेका छौं ।”

प्रस्तावित संशोधनमा उकालो ओरालोमा रोक्नुपर्ने, ट्राफिक लाइट परीक्षण, यू टर्न लगायतलाई मुख्यभित्र राखिएको छ भने साइट लाइट बाल्नु पर्ने रेखांकनमा छुने लगायतलाई सामान्यमा राखिएको छ ।

अब हुने परीक्षामा विभागले सबै प्राविधिक पक्षको आधारमा कुल अंकभार व्यवस्था भएपछि ट्रायलका लागि सहभागी परीक्षार्थीले तोकिएको अंकभार पाउनेछन् । हाल सबै प्यारामिटरमा कुनै त्रुटि नगरी ट्रायलमा सहभागी परीक्षार्थीले मात्र अनुमतिपत्र पाउने गरेका थिए ।

अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरेर माइनर प्यारामिटरमा छुट दिने गरी मापदण्ड ल्याउन लागिएको विभागको भनाइ छ । अहिले सानो त्रुटि हुँदा पनि परीक्षार्थी फेल हुने कारणले कुल सहभागीमध्ये २५ देखि ३० प्रतिशतमात्र ट्रयालमा पास हुने गरेको महानिर्देशक हमाल बताउँछन् । उनका अनुसार, नयाँ व्यवस्थासँगै कार्यालयमा रहेका सेवाग्राहीको भीड कम तथा प्रशासनिक र जनशक्ति व्यवस्थापनमा सहज भई सेवाग्राहीले समयमै सेवा पाउनेछन् ।

कोरोनाका कारण लामो समय चालक अनुमतिपत्र रोकिँदा सेवाग्राहीको भीड बढेर गएको छ भने सवारी चालक अनुमतिपत्र लिनका लागि हुने भीड र अव्यवस्थित सेवा प्रणालीले गर्दा बिचौलीया हावी हुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । विभागले प्रस्ताव गरेको कार्यविधि निर्देशिका संशोधनको दफामा मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेसँगै आगामी ३ महिनाभित्र नयाँ चालक अनुमतिपत्र मापदण्ड लागू हुने विभागका निर्देशक डा. लोकनाथ भुषाल बताउँछन् ।

विभागले विगतमा अनुमति पत्रका लागि निवेदन दिने कोटा सीमित भए पनि अब भने विभागले प्रतिसातामा २० हजार आवेदन लिनसक्ने सफ्टवेयर विकास गरेको छ । आगामी सातादेखि यो कार्यान्वयनमा आउने विभागले जनाएको छ । यस्तो सेवा उपत्यकाका चारसहित देशभरका १७ यातायात कार्यालयमा लागू हुनेछ । विभागका अनुसार, प्रतिसेकेण्ड एक हजारले अनलाइनमार्फत आवेदन दिनसक्ने गरी व्यवस्था मिलाइएको छ ।काराेबारबाट

Logo