नेपाली श्रमिकलाई सामाजिक सुरक्षाका लागि नेपाल र मलेसियाबीच सम्झौता हुने

नेपाली श्रमिकलाई सामाजिक सुरक्षाका लागि नेपाल र मलेसियाबीच सम्झौता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मलेसियाको सामाजिक सुरक्षा योजनामा आबद्ध हुने नेपाली श्रमिकको संख्या बढदै गएपछि यसको व्यवस्थापनका लागि नेपाल र मलेसियाबीच सम्झौता हुने भएको छ ।

मलेसियाको सामाजिक सुरक्षा संगठन (सोक्सो) र नेपालको वैदेशिक रोजगार बोर्डबीच योजनालाई थप व्यवस्थित गर्न सम्झौता हुन लागेको हो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले मलेसिया सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजनालाई प्राथमिकता दिएपछि दुई संस्थाबीचको सम्झौता अन्तिम चरणमा पुगेको बताए ।

मलेसियाले १ वर्ष अघिदेखि त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने काम सुरु गरेको थियो । नेपालका श्रम गन्तव्यमध्ये मलेसियाले सबैभन्दा पहिला नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गरेको हो । हालसम्म १ लाख ३५ हजार नेपाली मलेसियाको सामाजिक सुरक्षा निकाय सोक्सोमा आबद्ध भइसकेका छन् ।

मलेसिया सरकारले योजनामा सामेल भएका नेपालीको सामाजिक सुरक्षा रकम नेपालको बोर्डमार्फत पठाउने र अन्य कार्य गर्न बोर्डलाई जिम्मेवारी दिने गरि सम्झौता गर्न लागेको हो । “नेपाली श्रमिकको सामाजिक सुरक्षावापतको रकम नेपाल पठाउन यहाँको आधिकारिक निकायसँग सम्झौता गर्ने योजना बनाइरहेका बेला बोर्डलाई अनुरोध गरेको छ ।” कार्यकारी निर्देशक श्रेष्ठले भने, “यसका लागि मलेसियाको सोक्सोले बोर्डसँग रकम व्यवस्थापन र अन्य कामका लागि सहकार्यमा काम गर्न प्रस्ताव गरेको छ ।” यसका लागि बोर्ड कार्यविधि बनाएर अघि बढने गरी तयारीसमेत पूरा गरेको छ ।

मलेसिया सरकारको मानव संशाधन मन्त्रालय अन्तर्गत स्थापित सोक्सोमा रोजगारदाताले श्रमिकको तलबको १.२५ प्रतिशत मासिक रूपमा योगदान गर्ने गरी योजना अघि बढेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । यसमा श्रमिकको पैसा खर्च नहुने गरी रोजगारदाताले कोषमा रकम जम्मा गर्ने व्यवस्था मलेसिया सरकारले मिलाएको छ । यो कार्यक्रममा हालसम्म १ लाख ३५ हजार नेपाली आबद्ध भइसकेको बोर्डले जनाएको छ ।

नेपाली श्रमिकको सामाजिक सुरक्षाको काम गर्दै आएको सोक्सो र बोर्डले २ साताभित्रै सम्झौतापत्र आदानप्रदान गरेर सम्झौता गर्ने तयारी गरेको छ । यसको नीतिगत सहमतिका लागि बोर्डले मन्त्रिपरिषदबाट स्वीकृति पाउने चरणमा रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । बोर्डले मलेसियामा रहेका नेपाली श्रमिकले सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि यसलाई अन्यश्रम गन्तव्य देशमा लागू गर्न पहल गर्ने योजनासमेत अघि बढाउने भएको छ ।

मलेसियाको सामाजिक सुरक्षामा आबद्ध भएका नेपाली श्रमिकको मृत्यु भएमा परिवारका आमा, बुबा, श्रीमान् वा श्रीमतीले आजीवन र २१ वर्ष पूरा नगरेका छोराछोरीले कामदारको तलबको ९० प्रतिशत मासिक तलब बराबरको पैसा पाउने छन् ।काराेबारबाट

Logo