काठमाडौं ।
अहिलेसम्मकै ठूलो आईपीओका लागि आजदेखि आवेदन खुल्ला भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) शुक्रबारबाट बिक्री खूल्ला गरेको छ ।
८ करोड कित्ता सेयरमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्याचुअल फन्डका लागि छुट्याइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आम सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदनको लागि आज १० बजे देखि खुल्ला गरिएको छ ।
एनआईबीएल एस क्यापिटलले बैंकको शेयर निष्काशन गरेको छ । एस क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले आजदेखि माघ ६ गतेसम्म आवेदन दिन पाउने छन् ।
कति कित्तासम्म भर्न पाइन्छ ?
यो नेपालमा अहिलेसम्मकै ठूलो आईपीओ हो । यसमा बैंकको शेयर भर्ने अर्थात आवेदन दिनेहरु खाली हात फर्कनु पर्दैन । त्यसका लागि बैंक खातामा आवेदन रकम बराबरको ब्यालेन्स अनिवार्य छ । हाल नेपालमा २४ लाख डिम्याट खाता खुलेका छन् । सबैले आवेदन दिएको खण्डमा एक आवेदकलाई ३० कित्तासम्म भागमा पर्ने सम्भावना रहेको छ ।
यस अघि खुलेको चन्द्रागिरि हिल्सको आईपीओमा करिव १३ लाखले आवेदन परेको छ र अब यो बैंकमा १५ लाखले आवेदन दिदाँ पनि सबैलाई न्युनतम ५० कित्ता पर्ने अनुमान रहेको छ ।
नबिकेको आईपीओका लागि प्रत्याभूतकर्ता (अन्डर राइटर) मा नागरिक लगानी कोष छ । बैंकले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘बीबीबी’ को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ‘ट्रिपल बी’ को इस्युअर रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आईपीओमा गरेको लगानी मध्यम जोखिम जनाउँछ ।
इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा ‘एएए’ सबैभन्दा उत्तम रेटिङ हो भने ‘डी’ सबैभन्दा कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो राम्रो हो ।
अधिकृत पूँजी ३४० अर्ब जारी पूँजी २० अर्ब र हाल चुक्ता पूँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशतबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो । आईपीओ बिक्रीपछि २० अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्ने बैंकको संस्थापक र साधारण शेयर संरचना अनुपात ६०ः४० प्रतिशत हुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो । बैंकले गत आर्थिक वर्षमा ८४ करोड र यो आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड भन्दा माथि खुद मुनाफा आर्जन गरेको छ ।





























प्रतिक्रिया