काठमाडौं ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालन गर्दै आएको टोल फ्री नम्बर ११३७ मा लकडाउनका समयमा दैनिक तीन सयभन्दा धेरै गुनासो आउने गरेकामा हाल कमी आएको छ । काठमाडौँ उपत्यका र अन्य जिल्लाबाट उपभोक्ताको गुनासो आउने गरेकामा पछिल्लो केही दिन यता दैनिक १० देखि १५ सम्म गुनासो आउने गरेको विभागका अधिकारी बताउँछन् । खाद्यदेखि स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आउने विभागको टोल फ्री नम्बरमा आजकल कोरोना परीक्षण सम्बन्धी गुनासो आउने गरेको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्य केही दिन यता गुनासो आउने क्रममा कमी आएको बताउँछन् । “पहिला हामीलाई भ्याइनभ्याइ हुन्थ्यो, आजकल दैनिक छिटफुट मात्र गुनासो आउने गरेका छन्”, उनले भने, “पहिला ग्यास अभावदेखि खाद्यपदार्थमा बढी मूल्य लिएको भन्दै कारवाही गर्न गुनासो दर्ता हुने गरेको थियो तर आजकल हेलो सरकारमा गरेको गुनासोको सुनुवाइ भएन, कोरोनाको परीक्षण कता गरिन्छ भन्ने गुनासो आउन थालेका छन् ।”
लकडाउन समयमा खाद्य पदार्थमा बढी मूल्य लिने उजूरी बढी आउन थालेपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ताको गुनासोलाई आधार बनाएर विभागले अनुगमन गरी कारवाहीस्वरुप जरिवाना गर्दै आएको छ । उनका अनुसार गुनासा बाहिरी जिल्लाबाट पनि आउने भएको हुँदा त्यसका लागि सम्बधित स्थानीय तहलाई नै जानकारी दिने र काठमाडौँ उपत्यकाका हकमा विभागले नै सुनुवाइ गर्दै आएको छ ।
पछिल्लो समय विभागले आफ्नो नियमित अनुगमनभन्दा पनि टोल फ्री नम्बरमा उपभोक्ताबाट आएका गुनासोका आधारमा अनुगमनलाई तीव्रता दिएको छ। जो कोहीलाई पनि सामग्री खरीद गर्दा समस्या भए वा अन्य कसैलाई ठगी गरेको जानकारी भएमा टोल फ्री नम्बरमा खबर गर्न विभागले उपभोक्तालाई आग्रह गरेको छ। विगतमा चाडबाडका समयमा मात्रै अनुगमन गर्दै आएको विभागले अहिले यसलाई नियमित गरिरहेको छ । हाल स्वास्थ्य क्षेत्रमा बढी अनियमितता भएको भन्दै स्वास्थ्यकर्मीका साथमा विभागले अस्पताल लगायतमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ ।
एपमा एक हजार गुनासो
विभागले गत चैत १४ गते बेलुकादेखि सञ्चालनमा ल्याएको गुनासो सुनुवाइ सम्बन्धी उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली (सिआरएमआइएस) तथा कन्जुमर एपमा गत वैशाख मसान्तसम्म एक हजार ५६ गुनासो दर्ता भएका छन् । सूचना अधिकारी आचार्यका अनुसार सबै गुनासोको सम्बोधन गरिसकिएको छ । विभागको तथ्यांक अनुसार उक्त एप सञ्चालनमा आएपछि अनियमितता सम्बन्धी ११, खाद्य सामग्रीको अभाव १२०, ग्यास अभाव ४९५, इन्टरनेट ढिलोबारे २२, मास्कको कालोबजारी ११, सरसामानको अभाव ६४, ग्यास कालोबजारी १०, बढी मूल्यमा सामान बिक्री गरेको १०८ र अन्यसम्बन्धी गुनासो २१५ आएको छ ।रासस





























प्रतिक्रिया