कोरोनाले अर्थतन्त्रका कुन क्षेत्रमा कस्ताे प्रभाव ?

कोरोनाले अर्थतन्त्रका कुन क्षेत्रमा कस्ताे प्रभाव ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुप लिएपछि यतिबेला विश्वको अर्थतन्त्र धरासायी भएको छ । कोरोनाका कारण अहिले विश्वका विभिन्न मुलुकहरुको उद्योग, व्यवसाय, पर्यटन, रेमिट्यान्स, वैदेशिक लगानी लगायत विभिन्न क्षेत्र प्रभावित भएका छन् । कोरोना संक्रमणले थला परेको अर्थतन्त्रलाई उकास्ने गरी कोरोना प्रभावित मुलुकहरुले राहतका प्याकेजहरु पनि ल्याइरहेका छन् । कोरोनाका कारण नेपालको अर्थतन्त्र पनि हरेकदिन जसो शिथिल बन्दै गइरहेको छ । सरकारले गत चैत ११ गतेदेखि लागु हुने गरी पटक पटक लकडाउन थप्दै गरेको छ । यस्तो अवस्थामा उद्योग व्यवसाय लगायत सबै बन्द हुँदा अर्थतन्त्रमा झनै संकुचन आउने भन्दै व्यवसायीहरुले उद्योग खोल्न आग्रह गरेपछि सरकारले गत शुक्रबारदेखि विभिन्न ४४ प्रकारका उद्योग व्यवसायहरु संचालन गर्ने निर्णय गरेको थियो ।

कुन क्षेत्रमा कस्तो प्रभाव ?
बैंक
लकडाउनका कारण अहिले बैंकिङ क्षेत्रको कर्जा प्रभावित भएको छ । साना तथा ठुला कुनै पनि नयाँ कर्जा प्रवाह हुन सकेका छैनन् । बैंकर्स संघका सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले कोरोनाका कारण नयाँ कर्जा प्रभावित भएको बताए । लकडाउनको समयमा कर्जा लगानी ९ अर्बले घटेको छ । यस अवधीमा वाणिज्य बैंकहरुको ऋण २८ खर्ब ३६ अर्ब रुपैयाँ प्रवाह भएको छ । यो ऋण पुरानो सम्झौता अनुसारको कर्जा लगानी हो । निक्षेप भने कुल ३२ खर्ब १४ अर्ब रुपैयाँ संकलन भएको छ । निक्षेप ४ खर्ब २५ अर्बले बढेको हो ।

पर्यटन क्षेत्र
कोरोना भाइरसका कारण मुलुकमा सबैभन्दा बढी क्षति भएको क्षेत्र नै पर्यटन क्षेत्र हो । यो क्षेत्र अहिले पूर्ण रुपमा प्रभावित भएको छ । होटल व्यवसाय, ट्राभल एण्ड टुर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान लगायत प्रभावित भएका छन् । कोरोनाका कारण पर्यटन क्षेत्रमा २ खर्ब रुपैंयाँ भन्दा बढीको क्षति हुने प्रारम्भीक आँकलन गरिएको छ । यस क्षेत्रमा कुल १५ खर्ब ९५ अर्व रुपैंयाँ भन्दा बढी लगानी रहेको छ । त्यस्तै, यस क्षेत्रमा ९ लाखले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटन क्षेत्रमा भएको क्षतिको आँकलन गरेर सरकारले राहत प्याकेज समेत ल्याउने संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

विश्वप्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कारण गत वर्षहरुको तुलनामा यस वर्ष पर्यटकहरुको आगमनमा कमी आएको छ । गत मार्च २१ सम्म २५ हजार २ सय ५३ पर्यटक मात्रै नेपाल भित्रिएको पर्यटन विभागले जनाएको छ । अप्रिल र मे मा पर्यटकको आगमन भएको छैन ।

रेमिट्यान्स
हाम्रो अर्थतन्त्र रेमिट्यान्स (विप्रेषण) ले धानेको अर्थतन्त्र हो । वैदेशिक रोजगारीमा जाने युवाहरुले वर्षेनी अर्बौं रुपैंयाँ रेमिट्यान्स पठाउने गरेका छन् । जसले हाम्रो अर्थतन्त्र चलायमान बनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने पछिल्लो समय रेमिट्यान्स झिनो मात्रामा मात्रै वृद्धि भएको छ भने वृद्धिदर लगातार रुपमा घटिरहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रेमिट्यान्स आप्रवाह १.८ प्रतिशतले मात्रै बढेको देखिन्छ । यस अवधीसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैंयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधीमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्म २१.६ प्रतिशत बिन्दुले रेमिट्यान्स घटेको देखिन्छ । त्यससँगै यतिबेला कोरोना प्रभावका कारण रेमिट्यान्स झन् प्रभावित भएको राष्ट्र बैंकले जनाएको छ । ‘कोरोनाका कारण २० प्रतिशतको हाराहारीमा रेमिट्यान्स घट्ने देखिन्छ ।’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने । कोरोनाका कारण वैदेशिक रोजगारी प्रभावित भएका कारण मुलुकको प्रमुख आम्दानीको रुपमा रहेको रेमिट्यान्स प्रभावित भएको उनको भनाइ छ । रेमिट्यान्स प्रभावित हुँदा विदेशी संचितिमा चाप पर्न जाने तथा त्यसले भुक्तानी सन्तुलनमा असर पर्ने राष्ट्र बैंकको भनाइ छ ।

होटल क्षेत्र
कोरोना भाइरसले सबैभन्दा बढी क्षति पु¥याएको क्षेत्र मध्ये होटल क्षेत्र पनि एक हो । कोरोना भाइरसको संक्रमण सुरु भएपछि अधिकांश ठूला होटलहरु आगामी छ महिनाका लागि पूर्ण रुपमा बन्द भएका छन् । यो क्षेत्र १५ वर्ष अघि यसरी नै धरासायी बनेको थियो । सोही अवस्था आउन लागेको भन्दै व्यवसायीले चेतावनी दिएका छन् । होटल व्यवसायी संघ (हान) नेपालले प्रेस विज्ञप्ती जारी गरेरै होटल व्यवसाय पूर्ण रुपमा ध्वस्त भएको जनाएको थियो । संघकी अध्यक्ष सृजना राणाले निकै लामो समयसम्म होटल व्यवसाय थला परेको बताइन् । ‘होटल व्यवसाय त उठ्नै नसक्ने गरी प्रभावित भएको छ ।’उनले भनिन् । होटल व्यवसायको आम्दानीमा यस वर्ष ९० प्रतिशतले घट्ने प्रक्षेपण संघले गरेको छ । ‘सन् २००३ देखि सन् २००५ को अवधिमा होटलको कुल आम्दानीमा ५० प्रतिशत ह्रास आएको थियो । सरकारले उचित कदम नचाल्दा तीस वर्ष अगाडिदेखि सञ्चालित नारायणी, ब्लुस्टार, शेर्पा, वुडल्याण्ड लगायत त्यस बेलाका प्रसिद्ध होटल बन्द नै भएका थिए । यस्तो असामान्य परिस्थितीमा व्यावसायिक अस्तित्वको पूर्वसर्त खर्च कटौती भएको संघको भनाइ छ ।

सन् २०२० मा होटलसंघले होटल उद्योग पुनर्स्थापना नभएसम्म जनशक्ति व्यवस्थापन, बैंकको ऋण, घरभाडा व्यवस्थापन, विद्युत महशुल, स्थानीय सरकारको सम्पत्ति कर लगायतको उचित व्यवस्थापनलाई मध्यनजर गर्दै नीति निर्माण गर्न पनि अनुरोध गरेको छ । संघले श्रम ऐन र नियम भन्दा ‘बाँच्ने र बचाउने’ मूल नारा लिएर विशेष नीति ल्याउन सरकारलाई अनुरोध गरेको हो । होटल व्यवसायमा मासिक १ अर्ब ८० करोड रुपैयाँ घाटा भइरहेको अध्यक्ष राणाको भनाइ छ ।

उद्योग
कोरोनाका कारण अर्थतन्त्रका विभिन्न क्षेत्र जस्तै उद्योग क्षेत्र पनि प्रभावित भएको छ । समग्र उद्योग व्यावसायको क्षेत्रमा ३ खर्व रुपैंयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान सरकारले गरेको छ । उद्योग व्यवसायमा दैनिक २ अर्बको हाराहारीमा नोक्सान भएको अटो मोबाइल्स एसोशियशन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । कोरोनाका कारण सबै उद्योग व्यवसायहरु बन्द गर्दा भोकै मर्नु पर्ने अवस्था आउन सक्ने भन्दै व्यवसायीहरुले पटक पटक उद्योग खोल्न आग्रह गरेपछि सरकारले गत शुक्रबार विभिन्न ४४ किसिमका उद्योग व्यवसाय सञ्चालन गर्न अनुमति दिएको थियो । तर पास नभएको तथा कर्मचारीहरु काममा नआउँदा पूर्णरुपमा उद्योग व्यवसाय संचालनमा आउन सकेका छैनन् । कोरोनाले व्यवसाय ध्वस्त पारेको भन्दै उद्योगी तथा व्यवसायीहरुले आफ्ना कर्मचारी तथा मजदुरलाई ५० प्रतिशत मात्रै तलब दिने बताउँदै आएका छन् । सो मागबाट उनीहरु पछि हटेकै छैनन् ।

ट्राभल तथा टुर
लकडाउनका कारण अहिले विभिन्न यात्राहरु प्रभावित भएका छन् । अति आवश्यक बाहेक अन्य कामका लागि एक जिल्लादेखि अन्तर्राष्ट्रियस्तरको समेत यात्रा प्रभावित भएको छ । होटल व्यवसायहरु ठप्प छन् । जसका कारण यस क्षेत्रको व्यवसाय पूर्ण रुपमा प्रभावित भएको छ । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) ले कोरोना भाइरसका कारण यस क्षेत्रमा शतप्रतिशत क्षति भएको जनाएको छ ।

नाट्टाका अध्यक्ष सीएन पाण्डे भन्छन् , ‘ट्राभल्स एण्ड टुरको क्षेत्रमा शतप्रतिशत क्षति भएको छ ।’ मार्च र अप्रिलमा लगभग ५ हजार पर्यटक आउने गर्थे । तर कोरोना संक्रमणका कारण ती पर्यटक आएनन् । पर्यटक आउने मुखमै कोरोनाको संक्रमण सुरु भएपछि पर्यटक आउन नसक्दा यो क्षेत्र पूर्ण रुपमा प्रभावित भएको उनको भनाइ थियो । ट्राभल एण्ड टुरको क्षेत्रमा अहिलेसम्म भएको क्षति एक वर्ष बराबरको क्षति भएको अध्यक्ष पाण्डेको भनाइ थियो । सरकारले लकडाउन गरे यता पूर्ण रुपमा बन्द भएपछि क्षति भएको यस क्षेत्रको राहतका लागि नाट्टाले सरकारसँग राहतको माग गरेको छ । यो व्यवसाय पूर्ण रुपमा क्षति भएकाले कर्मचारीलाई सबै तलब दिन नसक्ने, घरभाडा, रिफाइनान्सिङको व्यवस्था, बैंकबाट लिएको ऋणमा सहुलियत लगायतका राहतको माग गरेका छन् ।

Skip This
Skip This
Logo